१६ बैशाख २०७५, आईतवार

वीरगञ्ज । सिण्डिकेट पक्षधर यातायात व्यवसायी नारायणी अञ्चल यातयात व्यवस्था कार्यलय घेराउ गर्न गएका थिए । प्रदर्शनकारीभन्दा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भएर उनीहरुलाई कार्यालयदेखि १०० मिटर टाढाबाट यातायात व्यवस्था कार्यलय छिर्न दिएनन् ।

सुरक्षाकर्मीले यातायात कार्यालय अगाडिसमेत जान नदिएपछि व्यवसायीहरु केहीबेर प्रर्दशन गरेर फर्किएका हुन् । यातायात व्यवसायीले शान्तिपूर्ण धर्ना गर्न पनि नदिएर सरकारले लोकतन्त्रविरोधी काम गरेको गुनासो गरेका छन् । आन्दोलन समिति पर्साका संयोजक विनोद मानन्धरले नागरिकलाई दिएको संवैधानिक अधिकार हनन भएको बताएको छ ।

यातायात व्यवसायीसँग सरकारले घुडा नटेकेसम्म आन्दोलन जारी रहने मानन्धरले चेतावनी दिएका छन् । यातायात व्यवसायीहरुको चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार यातायात व्यवसायीहरुले अब २१ गते आफ्नो(आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्क्याउनेछन् । सरकारी कार्यालयमा शान्ति सुरक्षा कायम गराउने क्रममा यातायात व्यवसायीहरुलाई १ सय मिटर पर धकेलिएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताए ।

सरकारी कार्यालयको सेवा प्रवाहमा कसैले अवरोध गर्न नमिल्ने बताउदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल राख्नुपर्ने र सरकारी कार्यालयको सेवा प्रवाहमा समस्या निम्त्याउन खोज्नेलाई नछोड्ने उनले जनाए ।

LIVE TV