१६ बैशाख २०७५, आईतवार

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रदेश सभाको बैठकलाई सम्बाेधन गरेका छन् । अाज प्रदेश ५ काे सभामा प्रधानमन्त्री अाेलीले सम्बाेधन गरेका हुन् ।

प्रदेश नम्बर ५ को अाजकाे अाकस्मिक प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै प्रम ओलीले देशलाई तीव्रगतिको विकास चाहिएको  बताए । उनले चाहेको खण्डमा त्यस्तो विकास गर्न सकिने पनि बताए ।

उनले लुम्बिनीमा छोटो अवधिमा तीन हजार मानिस अट्नसकिने सभाहल बनाएको भन्दै चाहेको खण्डमा विकास गर्न सकिने बताए । उनले आगामी दिनमा देशको अवस्थामा सुधार आउने दाबी गर्दै खान नपाएर कोही नमर्ने अबस्थाको सृजना गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने पनि बताएका छन् । भारतले अहिलेसम्म जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको उनकाे भनाइ थियाे । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ,’ उनले भने, ‘वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ । तर अब भारतले हामीलाई थप रुट दिनुपर्छ ।’ अाफ्नाे भारत भ्रमणमा याे कुरा उठाएकाे उनले दाबी समेत गरे ।

उनले सुशासनको मामिलामा सरकार कठोर हुने चेतावनी समेत दिए । ‘कहिलेकाहीँ लाग्न सक्छ, सरकार निर्मम भयो भनेर । निर्मम हुने हो जनताको सेवाका लागि,’ ओलीले भने, ‘सेटिङ मिलाउने, अनेक प्रकारका व्यबधान खडा गर्ने, घुस र कमसिनबाट राज्यलाई घाटा पार्नेसँग सम्झौता हुँदैन ।’ उनले सबै प्रकारका सिण्डिकेट तोडिने र अनुचित कुरासँग सम्झौता नगर्ने बताए ।

LIVE TV