१६ बैशाख २०७५, आईतवार

काठमाडौं । मुलुकमा अहिले सुनकाे माग र अापूर्तिबीच तालमेल मिल्न सकेकाे छैन । सरकारले निर्धारण गरेकाे काेटाले बजारमा सूनकाे माग धान्न नसकिएकाे सुन–चाँदी व्यवसायीहरू बताउँछन् । उनीहरुले अहिले पनि नेपाली बजारमा सुनको अभाव भइरहेको र सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छ्न् ।

हाल सिजनमा दैनिक १० किलो सुनको अभाव हुने गरेको व्यवसायीहरूकाे दाबी छ । अहिले बजारमा सुनकाे वैध आयात र बिक्री औसत दैनिक २०–२२ किलाेसम्म हुने गर्छ । जबकि व्यवसायीले नै बताइरहेका छन्– बजारमा दैनिक ३० किलाे सुनकाे माग हुन्छ । पर्याप्त अापूर्ति भएमा नेपाली बजारमा सुनकाे माग धान्न् सकिने उनीहरूकाे भनाइ छ ।

सुनमा वैध अायातकाे काेटा वृद्धि हुन नसक्दा तस्करी माैलाएकाे समेत उनीहरू जिकिर गर्छन् । उता, महालेखा परीक्षकको प्रतिवेदनमा व्यवसायीले प्रयोग गर्ने सुनको ८५ प्रतिशत हिस्सा अवैध रहेको देखाएको छ । यसबाट वैध सुनको आयात, बजारको माग र आपूर्तिबीच देखिएको अन्तरले तस्करीको सुनको प्रयोग बढ्दै गएकाे तथ्य छर्लंग हुन्छ ।

हाल बैंकिङ च्यानलबाट भित्रिरहेकाे दैनिक २२ किलाेजति सुनले बजारकाे माग धान्न नसक्ने भन्दै सुन चाँदी व्यवसायी महासंघले त्यस काेटामा वृद्धि गरी कम्तिमा औसत ३० केजीभन्दा बढी बनाउन सरकारलाई दबाव दिइरहे तापनि सरकारले माग सुन्न नचाहेकाे अाराेप लगाइएकाे छ । अहिले विवाह र ठूला पर्वहरुका महिनाका दिनहरुमा २५ केजीसम्म सुन व्यवसायीले बैंकबाट किन्न पाउँछन् । अन्य सिजनमा भने दैनिक २० केजीसम्म सुन पाइरहेका छन् व्यवसायीले ।

LIVE TV