१६ बैशाख २०७५, आईतवार

खलङ्गा । रुकुम पश्चिम आठबीसकोट नगरपालिकाले बिध्यार्थी कम पास भए त्यस स्कुलका शिक्षकलाई कार्वाही गरिने नियम बनाएको छ। जिल्लाको आठबीसकोट नगरपालिकामा रहेका ६१ वटा सामुदायिक विद्यालयमा कक्षा आठको परिक्षामा यस वर्ष ९ वटा विद्यालयको नतिजा शुन्य रहे पछि यस्तो अभियान खडा गरिएको हो ।

यो नतिजा लज्जास्पद रहेको भन्दै आठबीसकोट नगरपालिकाले नयाँ नियम बनाएका हुन्, विद्यार्थीले कम अंक ल्याए विषयगत शिक्षकलाई कारवाही गर्ने । शिक्षकहरु शिक्षण पेशामा इमान्दारीताका साथ नलाग्दा शिक्षाको गुणस्तर खस्किन थालेको भन्दै नगरपालिकाले यस्तो निर्णयका साथ कमजोर शिक्षकहरुलाई कारवाही गर्ने भएको हो ।

नगरपालिकाले भर्खरै प्रकाशित कक्षा आठको नतिजालाई आधार मानेर कमजोर शिक्षकलाई कारवाहीको गर्ने बताएको छ । जुन विषयमा कम अंक आएको छ त्यस विषयगत शिक्षकलाई कारवाही स्वरुप पहिलो चरणमा अन्यत्र विद्यालयमा सरुवा गरिने नगरपालिकाका आधारभूत तथा माध्यामिक शिक्षा शाखा संयोजक थलविर ओलीले बताउनुभयो ।

‘कमजोर अंक आउने विषय शिक्षकलाई कारवाही स्वरुप पहिलो चरणमा अन्यत्र विद्यालयमा तीन महिनाका लागि सरुवा गरिने छ’, ओलीले भन्नुभयो, ‘तीन महिनापछि सुधार भएमा पहिले कार्यरत विद्यालयमै फर्काइने छ भने, त्यहाँ पनि सुधार हुन सकेन भने शिक्षकहरुलाई सेवाबाट हटाइने छ ।’

शिक्षण पेशामा कार्यरत भए पनि यसमा भन्दा अन्यत्रै ध्यान दिने प्रवृत्तिका कारण शिक्षाको गुणस्तर खस्किँदै गैरहेको उहाँको भनाई छ । नगरपालिकाका सबै विद्यालयमा गरिएको स्थलगत अनुगमणका क्रममा शिक्षकहरुको लापरवाही नै सबैभन्दा बढी भेटिएको उहाँले बताउनुभयो । सोही अनुसार नगरपालिकाले कमजोर शिक्षकलाई सरुवा गर्ने नीति अवलम्बन गरेको ओलीले बताउनुभयो ।

LIVE TV