१६ बैशाख २०७५, आईतवार

काडमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बैशाख २० गते सम्ममा पार्टी एकताको निष्कर्ष निकाल्ने कसरतमा छन् ।

उच्च स्रोतका अनुसार मिल्न बाँकी विषयमा करिब–करिब टुंगो लागेर प्राविधिक पक्षको गृहकार्य जारी रहेकाले २० वैशाखभित्रै पार्टी एकता संयोजन समिति बैठक बोलाउने दुई अध्यक्षबीच समझदारी भएको छ ।

‘वार्ता सकारात्मक दिशामा अघि बढेकाले २० गते नै एकता संयोजन समितिको बैठकबाट दस्तावेज पारित गरेर एकता मितिको निर्णयसमेत हुन सक्ने बलियो सम्भावना छ,’ उच्च स्रोतले बताएको छ । यसबीचमा कुनै असहजता देखिएन र नयाँ घटनाक्रम विकास भएन भने त्यही दिन अन्तिम निर्णय हुन सक्छ ।’ एकता भड्काउने प्रयास हुने भएकाले पछिल्ला विकासक्रमबारे दुवै नेताले निकट नेताहरूलाई पनि खुलस्त जानकारी गराएका छैनन् ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच लगातार वार्ता भइरहे पनि दुवैतर्फको सचिवालयले भने लगातारको छलफल र गृहकार्यको प्रगतिमा अनभिज्ञता प्रकट गरेको छ । ‘दुवै अध्यक्षज्यूको बडिल्यांग्वेज हेर्दा वार्ता सकारात्मक दिशामै गइरहेजस्तो देखिन्छ, तर उहाँहरूले नै केही नबताएपछि कुनै जानकारी हुने कुरा भएन,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘छलफल निरन्तर चलिरहेकाले कहिलेसम्म एकता भइसक्छ भन्न सकिने अवस्था छैन ।’

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले शनिबारको छलफल संघीय सरकारको कामकारबाही र प्रदेश सरकारका विषयमा केन्द्रित भएको जानकारी दिए । ‘उहाँहरूबीच सरकारका कामका विषयमा छलफल भएको हो, एकताको सन्दर्भमा होइन,’ सापकोटाले भने, ‘शुक्रबारचाहिँ उहाँहरूले एकतामा केन्द्रित रहेर छलफल गर्नुभएको थियो ।’

LIVE TV