१६ बैशाख २०७५, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी जाँदै छन् । आज लुम्बिनीमै बास बसेर उनी सोमबार अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ । त्यहाँको बसाइमा प्रधानमन्त्री ओली अति व्यस्त रहने जनाइएको छ ।

प्रधानमन्त्री ओली लुम्बिनीमा जारी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन त्यता जान लागेको स्रोतले जनाएको छ । त्यहाँ उनले बाैद्ध सम्मेलन समापन गर्नेदेखि ध्यान केन्द्रको शिलान्यास गर्नेसम्मका विविध कार्यक्रम रहेका छन् । यसका साथै प्रदेश ५ को संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी समेत रहेको स्रोतको दाबी छ ।

साेमबार लुम्बिनीमा आयोजना हुने २५६२ औं बुद्ध जयन्ती विशेष कार्यक्रममा प्रधानमन्त्रीका साथै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीचाहिँ सोमबार नै लुम्बिनी जाने बताइएको छ ।

यस्तो छ प्रधानमन्त्री ओलीको व्यस्त कार्यतालिका

प्रधानमन्त्री ओलीले अाजै प्रदेश ५ को आकस्मिक संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि २१ गतेका लागि तय भएको प्रदेशसभा बैठक प्रधानमन्त्रीको सम्बोधनकै लागि प्रदेश सरकारको आग्रहमा आइतबारका लागि सारिएको हो ।

प्रधानमन्त्रीले सबै प्रदेशसभा बैठकमा एकपटक सम्बोधन गर्ने प्रचलन रहेकाले सोहीअनुसार पहिलोपटक प्रदेश ५ को संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हाे ।

त्यसपछि प्रम अाेली लुम्बिनी जाने कार्यतालिका छ । लुम्बिनीमा चिनियाँ बौद्ध बिहारमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । शनिबार यो सम्मेलनको उदघाटनमै उनी सहभागी हुने कार्यक्रम थियो, तर उद्घाटनमा पुग्न नसकेपछि अाज समापनमा जान लागेका हुन् । प्रधानमन्त्रीले अाजै सम्मेलनको निश्कर्षसहितको लुम्बिनी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएकाे छ ।

त्यसपछि प्रधानमन्त्री अाेली नेपाली सेनाले लुम्बिनीमै बनाएकाे सभा हलको उद्घाटन गर्नेछन् । चार करोडको लागतमा बनाएको साे अस्थायी प्रकृतिको सभाहलकाे क्षमता तीन हजार जना रहेकाे छ । साे  उद्घाटनलगत्तै  दिउँसो साढे  २ बजे लुम्बिनी बौद्ध विश्व विद्यालयले आयोजना गरेको दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले सोमबार शिलन्यास गर्ने भनिएको ५ हजारजना अट्ने अन्तर्राष्ट्रिय ध्यान केन्द्रसहितको सभाहलको पनि आइतबार नै शिलान्यास गर्ने बताइएकाे छ।

सोमबार २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ प्रमुख अतिथिका रूपमा निम्त्याइएकाे छ, जसमा प्रम अाेली पनि  विशिष्ट अतिथिका रुपमा सहभागी हुनेछन् ।

बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई लक्षित गरी लुम्बिनी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब १५ सयको संख्यामा सुरक्षाकर्मीहरु परिचालित गरिएकाे स्राेतले जनायाे ।

LIVE TV