१६ बैशाख २०७५, आईतवार

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फाेनवार्ता गरेका छन् । उनले उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे मुनबाट जानकारी लिएकाे बताइएकाे छ ।

ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भनेका छन्, “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्नेे काम भैरहेको छ ।”

जारी वार्ताका विषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको छ, ट्रम्पले बताएका छन् ।

मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी शान्ति तथा कोरियाली प्रायद्विलार्इ आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने विषयमा सहमति गरेका थिए ।

दुई कोरियाली मुलुकमा सन् १९५० मा शुरू भउको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन । (रासस/एएफपी)

LIVE TV