१६ बैशाख २०७५, आईतवार

काठमाडौं । नेपाली कांग्रेसकाे जारी केन्द्रीय समिति बैठक अझै टुंगाेमा पुग्न सकेकाे छैन । हिजाे शनिबार सकिने भनिएकाे बैठक चुनावमा पार्टीले व्यहाेरेकाे हारको जिम्मेवारी कसले लिने भन्ने विवादका कारण बस्नै सकेन । दिनभर सहमति र छलफलकाे प्रयास भए पनि बैठक नै नबसी स्थगित भएकाे हाे ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शनिबार दिनभर भएको सहमति प्रयास सफल हुन सकेन । फलस्वरूप केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भयाे । बैठकका लागि विहान ९ बजे नै पार्टी कार्यालय सानेपा पुगेका नेताहरु दिनभर कुरेर साँझ ७ बजेतिर रित्तै फर्किएका थिए । उनीहरू अधिकांशले गफ गरेर दिन बिताएकाे स्राेतले जानकारी दिएकाे छ ।

शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी थियो ।महामन्त्रीको प्रतिवेदन बनाउन शेरबहादुर देउवा र रामचन्द्र पौडेलका नेताहरुले सहयोग गरेका थिए । तर, चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति हुन नसक्दा बैठक नै बस्न नसकेकाे हाे ।

सभापति देउवा पक्षले एमाले र माओवादीकाे गठबन्धन बनेका कारण कांग्रेसले चुनावमा हार व्यहाेरेकाे तर्क गर्दै अाएकाे छ । तर पाैडेल पक्षका नेताहरूले भने नेतृत्व (देउवा)कै पार्टीले लज्जास्पद हार व्यहाेरेकाे अाराेप लगाउँदै अाएकाे छ । स्रोचका अनुसार मध्यमार्गी नेताहरुले तयार पारेको प्रस्तावमा कांग्रेसले आफ्ना राम्रा कामहरुको पनि प्रचार गर्न सकेको भए, सरकारका कतिपय अनुपयुक्त निर्णयहरु नगरेको भए यो भन्दा राम्रो परीणाम प्राप्त गर्न सकिन्थ्यो भन्ने भाषा राखिएको छ । अधिकांश दाेस्राे तहका नेताहरूकाे धारणा पनि यही रहेकाे छ ।

अाज अाइतबार पुनः बस्ने भनिएकाे कांग्रेस बैठकमा सभापति देउवाले बोल्ने र त्यस आधारमा प्रस्तावलाई अन्तिम रुप दिने प्रयास भइरहेको जनाइएकाे छ । पौडेलसहितका शीर्ष नेताहरुले नोट अफ डिसेन्ट लेख्ने अवस्था आउन नदिने देउवा पक्षको रणनीति छ । यही गलफत्तीमा हिजाेकाे बैठकै बस्न नसकेकाे स्राेतकाे दाबी छ ।

देउवा र पौडेल समूहबीच महासमिति बैठकको मितिबारे पनि सहमति जुटेको छैन । देउवा समूहले साउन अन्तिम वा भदौंमा गर्ने प्रस्ताव राखेकाे छ भने अरुले जेठभित्रै गर्न माग गरेका छन् । अाजकाे बैठक  ११ बजे बस्ने जनाइएकाे छ । त्यसअघि नेताहरुबीच सहमतिको प्रयास जारी रहने बताइएकाे छ ।

LIVE TV