‘मनपरेका केही कविता’ उत्कृष्ट अनुदित संग्रह भएको दाबी



प्रकाशित मिति : Apr 21, 2018
  • राजेन्द्र तारकिणी

काठमाडौं । कवि सुमन पोखरेलले विश्वका चर्चित कविका केही राम्रा कविताहरुको अनुवाद गरेर ‘मनपरेका केही कविता’ नामक संग्रह बजारमा ल्याएका छन् । शनिबार सर्वनाम थिएटरमा उक्त अनुदित कवितासंग्रहको विमोचन गरिएको छ ।

कवि तुलसी दिवसले कवितासंग्रहको विमाेचन गरेका हुन् । विमोचनपछि उनले नेपाली साहित्यिक बजारमा जति अनुवाद हुनुपर्ने हो, साे हुन नसकेको र जसरी हुनुपर्ने हो, त्यसरी पनि नभएको बताए । उनले अब यसको निकास र विकासका लागि व्यक्तिगत मात्र नभएर सामूहिक प्रयासकाे खाँचाे रहेकाे तर्क गरे । नेपाली साहित्यको उत्थानका लागि छिटै नै यहाँ विश्व साहित्य सम्मेलन गर्नु आवश्यक रहेको समेत उनकाे भनाइ थियाे ।

कार्यक्रममा कवि विप्लव प्रतीक, मोमिला, बलराम अधिकारी र दीपक सापकोटाले पुस्तकमाथि अन्तरक्रियात्मक छलफल गरेका थिए ।

कवि बलराम अधिकारीले अनुवाद पृथक सिर्जनाभन्दा पनि अनुसिर्जना रहेको बताए । यसमा काव्यिक पर्यावरणको पर्याप्त ज्ञान हुनुपर्ने भन्दै उनले पाठकलार्ई कविता आफ्नै ढंगले बुझ्न पाउने अधिकार भएकाे धारणा राखे । त्यस्तै, कवि विप्लव प्रतिकले नेपाली साहित्यमा हुने गरेका अनुवादमा  मूल कृतिमाथि उचित न्याय हुन नसकेको बताए । उनले भने, ‘नेपाली साहित्यका  मूल कृतिको पनि आत्मा नमर्नेगरी अनुवाद गर्न सकिएमा नेपाली साहित्य पनि विश्वबजारमा चर्चित हुन सक्थ्याे ।’ उनले यस संग्रहले नेपाली अनुवाद साहित्यमा एक उत्कृष्ट प्रतिनिधित्व गरेको दाबी गरे ।

कवि मोमिलाले शब्दभन्दा पनि मूल कविताको भाव र आत्मामा बढी केन्द्रित भएर अनुवाद गरिएको हुनाले संग्रहका कविता नेपाली कविता नै भएर आएको बताइन् । यो नै कृतिको सुन्दर पक्ष रहेको उनको भनाइ थियो ।

दीपक सापकोटाद्वारा सञ्चालित अन्तरक्रियामा कवि सुमन पोखरेलले यस संग्रहको अनुवाद गर्दा कविताको प्राविधिकता र सिर्जनाबीच सन्तुलन कायम  गरिएको बताए ।

संग्रहमा अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रिभेर, डेलमिरा अगस्तिनी, नाजिक अल मलाइका, नाजिम हिकमत, निजार कब्बानी, पाब्लो नेरुदा, फरोग फारुखजाद, महमुद दरविस, येहुदा अमिसाई तथा सिल्भिया प्लाथका जम्मा ६४ कविता समाविष्ट छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य रु २५० रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com