२४ चैत्र २०७४, शनिबार
  • नविन राई

कविता

‘मेरो नजरमा मेरो बा र प्रधानमन्त्री ‘

प्रधानमन्त्री ज्यू तपाई भन्दा
मेरो ‘बा’  धेरै भारत जानुभएको छ ।
अनि तपाई भन्दा धेरै  बस्नुभएको छ ।
फरक यति मात्र हो,
तपाई प्रधानमन्त्री बनेपछि जानुहुुन्छ ।
मेरो ‘बा’ दशैँ तिहारपछि जानुहुन्छ ।
तपाई गफ चुट्न जानुहुन्छ ।
मेरो ‘बा’ पसिना चुहाउन ।
तपाई भारत जानुहुदा
‘गार्ड अफ अनर’  पाउनुहुन्छ ।
मेरो ‘बा’ले डोको र नाम्लो पाउनुहुन्छ ।

तपाई पनि भारतै जानु हुन्छ ।
मेरो ‘बा’ पनि त्यहिँ भारतै जानुहुन्छ ।
फरक यति मात्र हो,
तपाईलाई भारतको विशिष्टहरुले
फूल माला लगाई दिएर स्वगत गर्छन् ।
मेरा ‘बा’लाई कोईला खानीको
कोइलाहरु र सुन्तला बगानका
सुन्तालाहरुले स्वागत  गरेको हुन्छ ।
तपाईले पनि त्यो फूलको माला गलामा लगाएर
बोक्नु हुन्छ ।
मेरा ‘बा’ले पनि त्यो कोइला र सुन्तला डोकोमा लगाएर
बोक्नु हुन्छ ।

भारतदेखि फर्कनु  हुदाँ तपाई मोदीको
कोसेली बोकेर फर्कनु हुन्छ ।
तर मेरो ‘बा’ बर्खामासमा चुहिने घरको
छानो टाल्ने त्रिपाल बोकेर र्फकनुहुन्छ ।
दशैँ तिहार मनाउने खर्च जुटाएर र्फकनुहुन्छ ।
मेरो ‘बा’ एउटा घरको प्रधानमन्त्री
तपाई एउटा देशको प्रधानमन्त्री
फरक यति मात्रै त हो नि
जति मेरो ‘बा’को एउटा घरको जति जिम्मेवारी छ ।
अखिर तपाईको पनि उतिकै जिम्मेवारी छ,
एउटा देशको लागि ।

लेखकलाई पछ्याउन नविनमा क्लिक गर्नुहोस्
नविन राई,साल्पासिलिछो-१ भोजपूर
हाल, काठमाडौँ

 

LIVE TV