युएस बंगालको विमान दुर्घटनासंगै धेरैका अनेकौं सपनाको अन्त्य



प्रकाशित मिति : Mar 13, 2018

युएस बंगालको विमान दुर्घटनासंगै धेरैका अनेकौं सपनाको अन्त्य, न्यूरो सर्जन डाक्टर बालकृष्ण थापाको निधनसंगै उनीबाट उपचार गराउने आशमा बसेका विरामीहरु बने निराश

  • प्रकाश सिग्देल,

चितवन, यूए वंगलाको विमान दुर्घटनासँगै धेरैका अनेकौं सपना अन्त्य भयो । तिमध्ये एक हुन् कवि हृदयका चिकित्सक बालकृष्ण थापा । न्यूरो सर्जरीसम्बन्धी सम्मेलनमा सहभागी हुन बंगलादेश गएका थापाले कहिल्यै नफर्किने गरी विमानस्थलमै प्राणान्त्य गरे सोमबार । जसको ब्यग्र प्रतीक्षामा थिए चितवनका विरामी ।

वंगलादेशबाट फर्किएर अपरेशन गरौला भन्दै डा. थापाले गत मंगलबार चितवन छोडेका थिए । र, झण्डै ६ दिन भरतपुरको एलाईभ अस्पतालको १ सय १२ नम्वर शैयामा रहेका पर्वतका यि ६५ बर्षीय पिताम्वर सापकोटा उनै न्यूरो सर्जन थापाको प्रतिक्षामा थिए ६ दिनदेखि । थापा बंगलादेशबाट त फर्किए । तर, चितवन पुग्न सकेनन् । सोमबार काठमाडौंमै पापी कालले टपक्कै टिप्यो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि तीन जना विरामी थापाको प्रतिक्षामा थिए । दैनिक तीन वटासम्म शल्यक्रिया गर्ने थापाले २०५८ सालमा क्यान्सर अस्पतालबाट चितवनमा सेवा दिन थालेका थिए । तर, भरतपुरका अन्य निजी अस्पताल पनि डा. आश र भरोसामा रहन्थे । जीवन अन्त्यसँगै क्यान्सर अस्पतालमा थापाको प्रतिक्षारत विरामीलाई के गर्ने भन्ने अन्योल छ । सात बर्षयता निजी क्षेत्रको एलाइभ अस्पतालमा शल्यक्रिया गरिरहेका थापाकै लागि अस्पतालले ६० लाख रुपैयांँ खर्चिएर नयाँ उपकरण भित्र्याएको थियो । थापालाई सहकर्मी टाउकाको ट्युमर शल्यक्रिया गर्ने देशकै एक नम्बर चिकित्सकका रुपमा स्मरण गर्छन् ।

२०२४ साल माघ ४ गते काभ्रेको कुशादेवी–३ मा जन्मिएका थापा २०५१ सालको एमबीबीएस व्याचका ‘सर्वोत्कृष्ठ’ थिए । बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजीव विश्वविद्यालयबाट न्यूरो सर्जरीमा एमएस गर्दा थापा ‘गोल्ड मेडलिस्ट’ थिए । चिकित्सा क्षेत्र बाहेक थापाको अर्को पहिचान थियो–साहित्य । उनको दुई कविता कृति र एउटा निबन्ध संग्रह प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com