४ फाल्गुन २०७४, शुक्रबार

लमजुङ । लमजुङको बेसीसहर नगररपालिका–१, उदिपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । ‘हाम्रो लक्ष्य प्राविधिक तथा व्यवसायिक शिक्षा, दीर्घकालीन गुणस्तरीय शिक्षाका लागि धार्मिक महायज्ञ’ भन्ने मूल नाराका साथ फागुन ५ गतेदेखि १२ गतेसम्म विद्यालय प्रांगणमा महायज्ञ सञ्चालन हुन लागेको हो ।

महापुराण सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले महायज्ञबाट २ करोड बढि अर्थ संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

महायज्ञ सफल पार्न आयोजकले प्रचारप्रसारलाई तीव्र बनाएको छ । उदीपुर बजार दुलहीँझैँ सिँगारिएको छ । महायज्ञ सञ्चालन हुने विद्यालयको प्रांगणमा मण्डप निर्माण गरिएको छ । मञ्च व्यवस्थापन गरिएको छ । महायज्ञमा आउने भक्तजनका लागि बस्नको लागि उचित व्यवस्था मिलाईएको छ । यसैगरी धान्यञ्चल, गौशाला लगायतका संरचना पनि निर्माण गरिएको छ ।

विद्यालयका शिक्षक सूर्यबहादुर अधिकारीले विद्यालयमा अहिले कक्षा ११ सञ्चालन गरिएको बताउँदै निकट भविष्यमा नै प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्न अर्थ संकलन गर्ने उद्धेश्यका साथ महायज्ञ सञ्चालन गर्न लागिएको बताउनुभयो ।

अधिकारीका अनुसार महायज्ञका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ । एकहप्तासम्म चल्ने महायज्ञमा भागवत् कथा वाचन, ऋद्धिसिद्धी, कलशयात्रा, तुलादान, लाखबत्ती प्रज्वलन, आकाशदीप प्रज्वलन, अखण्डदीप प्रज्वलन, चौरासीपूजा, विवाह, व्रतवन्ध, चुडाकर्म, ग्रहशान्ति, नगद तथा भूमिदान, शालिग्राम परिक्रमा, दैनिक हवन, रात्रीकालिन भजन/किर्तन लगायतका कार्यक्रम सञ्चालन हुनेछ ।

LIVE TV