रक्सोलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन योजना कार्य तीब्र गतिमा



प्रकाशित मिति : Feb 13, 2018
  • बसन्त खतिवडा,

बारा । इन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको पेट्रोलियम पाईपलाइन योजना भारतको सीमावर्ती शहर रक्सोलदेखि बाराको अमलेखगञ्ज सम्म निर्माण कार्यले तीब्रता पाएको छ । भारतीय शहर रक्सौलदेखि बाराको अमलेखगञ्ज सम्मको ३६ दशमलव २ सय ६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य निगमले शुरु गर्न लागेको हो । भारतीय पक्षले कार्यन्यवनमा तत्परता देखाएकाले पनि निर्माण कार्य छिटै सम्पन्न हुने आशा बढेको छ ।

वीरगञ्जको शंकराचार्य गेटबाट वीरगञ्जकै गण्डक नहरसम्म वाईपास सडकको दायाँ भागबाट र त्यस पश्चात त्रिभूवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको वायाँ भागबाट पाईप लाईन निर्माण गर्न लागिएको हो । सडकको २५ मिटर भित्र पर्ने गरी पाईपलाईन निर्माण गर्न लागिएकाले मुआव्जा लगायतका अन्य अवरोध नहुने भएकाले पनि निगमले सडकको क्षेत्रभित्रबाट पाईपलाईन निर्माण गर्न लागेको हो ।

साढे तीन सय करोड भारतीय रुपैयाँमा निर्माण हुन लागेको उक्त पाईपलाईनमा भारतीय पक्षले दुई सय करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ । पाईप लाईन निर्माणका लागि आवश्यक कामहरु सम्पन्न भईसकेको छ भने भारतीय आयल निगमले पाईपहरु निर्माण गरेर नेपाल पठाईसकेकोले अव केही दिन भित्र मेशिनरी सामग्रीहरु आउने वित्तिकै पाईप विच्छाउने कार्य शुरु हुने नेपाल आयल निगम रक्सोल अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन प्रोजेक्ट सिमराका मेकानिकल ईन्जिनियर शरद पौडेलले जानकारी दिनुभयो ।

भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतिहारी बजारक्षेत्रको ११ कि.मी. उत्तर तर्फ सेमरा भन्ने स्थानमा टर्मिनल या ट्याप या पोईन्ट निर्माण गरी उक्त स्थानबाट नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाईपलाईन निर्माण हुने छ । पाईपलाईन विछ्याउने कार्यको लागि सवै किसिमका सर्भे, स्वाईल टेष्टिङ, रेखाङ्गन पिलरहरु समेत स्थापना गरिएको छ । हाल नेपाल भित्रिएको पाईप १० दशमलव ७५ ईन्च गोलाई र ० दशमलव २ सय १९ इन्च मोटाईको रहेको र यो पाईप भारतीय कम्पनी जिन्दलले माटो परीक्षण गरी निर्माण गरेकोले पाईपको गुणस्तर राम्रो रहेको विज्ञ पौडेलको भनाई छ ।

पाइप लाइनमार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनाका साथै ढुवानी लागत र अन्य नोक्सानी रोकिएर वार्षिकरुपमा ५५ देखि ६० करोड रुपैयाँ जोगिने निगमको अनुमान छ । अहिले नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सोल नाकाबाट वीरगन्ज हँुदै ट्यांकरमा भित्र्याइन्छ । यसमा ढुवानी लागत बढी पर्ने र चुहावटले गर्दा नोक्सानी हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com