२१ माघ २०७४, आईतवार

काठमाडौं । राज्य र जनतालाई सोझै ठग्दै आएको हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले खुलेआम उपभोक्तालाई अस्वभाविक मूल्य लिएर गाडी बिक्रि गर्दै आइरहेको तथ्य अब सर्वत्र भइसकेको छ । हुण्डाईले सर्वसाधारणको हुर्मत नै लिइसके पनि हुण्डाईको हुर्मत लिन भने सरोकारावाला निकाय चुक्दै आएको छ । हुण्डाईलाई किन यो विशेष सुविधा ? प्रश्नको खातहरु थपिन थालेका छन् ।

अन्तर्राष्ट्रिय अटोमोबाइल्स कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विभिन्न गाडीमा अत्याधिक मूल्य असुल्ने गरेको छ । विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले राज्य र कानुनको समेत बर्खिलाप हुने गरी उपभोक्तामाथि चरम शोषण गरिरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले एउटै गाडीमा ५३ प्रतिशतसम्म बढि मूल्य लिएर उपभोक्ताको ढाड सेकाउँदै आएको छ । कानुनलाई समेत बेवास्ता गर्दै लुट मच्चाएको बिक्रेताले उपभोक्ता ठग्दा सम्बन्धित निकाय भने मौन देखिनुलाई पक्कै पनि साँठगाँठ भएको अनुमान गरिन थालिएको छ ।

कम्पनीले १८ लाख ८७ हजार मुल्य पर्ने ग्रान्ड आइटेन गाडीलाई २६ लाख ८६ हजारमा बिक्रि गरेको छ । यस्तै, २८ लाख ३४ हजार मुल्य पर्ने हुन्डाई आइ ट्वान्टी गाडीलाई ३७ लाख ९६ हजारमा बिक्रि गर्दै आएको छ भने ४१ लाख ६७ हजार पर्ने क्रेटा एसएक्स प्लस गाडीलाई ५२ लाख ५६ हजारमा बिक्रि गर्दै आइरहेको छ । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले उपभोक्तासँग गाडी बिक्रिबाट अनाधिकृत रुपमा रकम लिएपछि न्यूज २४ टेलिभिजनले लगातार समाचार प्रसारण गर्दै गर्दा आफ्नो झुट र लुटलाई लुकाउनको लागि लक्ष्मी इन्टरकन्टिनेन्टलका सञ्चालक अञ्जन श्रेष्ठले विज्ञप्ती नै जारी गरी कालोबजारी तथा ठगी नगरेको भन्दै पानीमाथिको ओभानो बन्ने प्रयास गरेका छन् । विज्ञप्तिमा उनले आर्थिक ऐन अनुसार बिक्रि मूल्य प्रत्येक चार–चार महिनामा प्रकाशित गर्दै आएको भन्दै आफ्नो बचाउ समेत गरेका छन् । यता, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै ठगी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई आग्रह गरेको छ ।

विभागका अनुसार सबै कागजपत्र तयार गरी थप अनुसन्धान र कारबाहीका निम्ति प्रहरीलाई निर्देशन दिएको छ । बैंकको ब्याजदर, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका आधारमा आफुहरुले सवारी साधनको बिक्रि मूल्य तय गरेको उल्लेख गरेपनि त्यस्तो अधिकार बिक्रेतालाई नभएको भन्दै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यस्ता ब्यवसायीलाई नछाड्ने दृढता जाहेर गर्नुभएको छ । उहाँले गाडीमा जोडिने अनावश्यक खर्च उपभोक्तामाथि लादिनु कानुन विपरीत भएको र कानुन पढ्न समेत हुन्डाईका संचालकलाई अनुरोध गर्नुभएको छ । महानिर्देशक दाहालले यसरी ब्यवसायी र कालोबजारीलाई प्रश्रय दिनु गलत भएको भन्दै नाडाले आफ्नो बचाउको लागि मात्रै विज्ञप्ती जारी गरेको बताउनुभएको छ । विभागका अनुसार हुन्डाई, फ्रोड, रेनल्ट लगायतका १३ वटा गाडी कम्पनीले उपभोक्तासँग अनाधिकृत रुपमा रकम लिदैं आइरहेका छन् ।

अटोमोबाइलका क्षेत्रमा देखिएका समस्या तथा नीतिगत रूपमा राज्यलाई सहयोग गर्ने संस्थाका अध्यक्ष सञ्चालक रहेको कम्पनीले सर्वसाधारण ठग्नु लज्जाको विषय बनेको छ । पछिल्लो समय बजार अनुगमनका क्रममा सवारी विक्रेता कम्पनीहरूले अस्वाभाविक रूपमा विभिन्न शीर्षकमा ग्राहकबाट मूल्य असुल्ने गरेको भन्दै आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागले कारबाहीका लागि भूमिका खेलिरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको व्यवसायमा कैफियत देखिएपनि थप प्रमाण जुटाउन र कम्पनीका प्रतिनिधिलाई बयान लिन समय लागेकाले अनुसन्धान कार्य पूरा हुन समय लागेको महानिर्देशक दाहालको भनाइ छ ।

LIVE TV