२१ माघ २०७४, आईतवार

काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ ।

लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई होटलमै छाडेर गएपछि रीसको झोंकमा सामूहिक बलात्कारको मौखिक उजुरी दिएको मिलापत्र कागजमा उल्लेख छ । तर, मिलापत्रमा लेनदेनबारे उल्लेख गरिएको छैन ।

सामूहिक बलात्कारको घटना मिलाउन दरबारमार्ग वृत्तका प्रहरीले भूमिका खेलेको पाइएको छ । कतिसम्म भने केटाकेटीले बिहे गर्ने सहमति भएको भन्दै प्रहरीले दुबैको सामूहिक तस्वीरसमेत खिचेर राखेको खुलेको छ ।

तर, मिलापत्र भइरहेको ठाउँमा पनि युवती भने रोइरहेको आफूले देखेको प्रत्यक्षदर्शीको भनाइ छ ।

पीडित परिवारले ३० लाख नगद बुझे

पीडित युवती सामूहिक बलात्कार भएको भन्दै आएपछि कमलपोखरी प्रहरीले दरबारमार्ग बृत्तमा पठाएको थियो । उनले उजुरी दिएपछि प्रहरीले घटना भएको होटलमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै बयानसमेत लिएको थियो ।

त्यसपछि प्रहरीकै उपस्थितिमा दुबै परिवारवीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास सुरु भएको थियो । यसमा संलग्नहरुले बताए अनुसार अपराह्न करिव ४ बजेतिर त पीडित परिवारले नगद बुझेका थिए ।

संयोगबस पीडित युवतीका नातेदार र शैलेशका साथी एक समयका सहकर्मी रहेछन्, जो यही मुद्दाका सिलसिलामा दरबारमार्ग प्रहरी वृत्तमा आमुन्ने सामुन्ने भए । उनीहरुकै पहलमा मिलापत्र भएको पाइएको छ ।

अपराह्न प्रहरी बृत्तमा पुगेका एक व्यक्तिका अनुसार त्यहाँ मिलापत्र भइरहँदा पीडित युवती रोइरहेकी थिइन् । उनलाई फकाउन शैलेशकी आमाले ‘मेरी छोरी पनि छैन, तिमीलाई अहिल्यै बुहारी बनाउन तयार छु’ भनेकी थिइन् ।

मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १ \२ करोडको कुनै चिन्ता छैन ।’

स्रोतका अनुसार पीडित परिवारले त्यहीँ ३० लाख नगद बुझेका थिए, जुन नजिकैको बैंक अफ काठमाडौंमा रहेको आफ्नो खातामा जम्मा गरेका थिए ।

तर, पीडितका बाबुले सबै रकम जम्मा गरे वा गरेनन् खुलेन । तर, प्रहरी स्रोतले भने खातामा २७ लाख आकस्मिकरुपमा आएको देखिएको बताएको छ ।

शैलेश र पीडित युवतीको परिवारबीच प्रहरीकै उपस्थितिमा मुद्दा मामिला नगर्ने सहमति भयो । एक पन्ने सहमतिपत्रमा पीडितका बाबु, आमा, शैलेसका आमा, शैलेश र केही साक्षीले हस्ताक्षर गरेका छन् ।

यो मिलापत्र प्रहरीले नै तयार पारेको थियो, त्यसैले त्यहाँ लेनदेन उल्लेख गरिएको छैन । स्रोतले भन्यो, ‘पीडितले बुझेको रकमबाट प्रहरीले पाएका छैनन्, केटा पक्षले नै दिएको होला । तर, लेनदेनमै मिलापत्र भएको हो ।’

मिलापत्र गरेर आफ्नो नियन्त्रणमा रहेका शैलेशलाई छाड्नुअघि प्रहरीले ‘विवाह गर्ने’ भन्दै शैलेश र पीडित युवतीको संयुक्त तस्वीर समेत खिचेको थियो ।

सहमति गर्दैगर्दा आफूले पनि पीडित युवतीको उद्दार भयो भन्ने ठानेको तर, सामूहिक बलात्कार भनेर खबर बाहिर आएपछि छाँगाबाट खसेजस्तै भएको मिलापत्रमा हस्ताक्षर गरेका एक साक्षीले बताए ।

LIVE TV