२१ माघ २०७४, आईतवार

प्रदीप

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि भन्दै खटाएको कर्मचारहीहरु अझै स्थानीय तह पुगेका छैनन् । मन्त्रालयले १ हजार ६ सय कर्मचारीलाई स्थानीय तहमा सरुवा गरेपनि कर्मचारी खटाएको ठाउँमा नगएको पाइएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयसँग ताकेता गर्दै आएको छ । तर, पठाइएको कर्मचारी समेत विभिन्न शक्ति केन्द्र धाउँदै आफनो सरुवा रोक्न माग गर्दै काठमाडौंमा नै रहेका छन् । कर्मचारीहरु स्थानीय तहमा जान नचाहेपछि सरकारले स्वेच्छिक अवकाशबाट बाहिरिन आग्रह समेत गरेको थियो । तर, हालसम्म पनि कर्मचारी भने स्थानीय तहमा नपुग्दा समस्या थप बढ्दै गएको छ ।

यता सामान्य प्रशासनले मन्त्रालयको कार्यक्षेत्र कर्मचारी सरुवा गर्ने मात्र भएको भन्दै सरुवा कार्यान्वयन हेर्ने अधिकार नभएको दाबी गरेको छ । सामान्यले असोज १४ गते सरुवा गरेका कर्मचारी उपसचिवदेखि खरिदार तहसम्मका छन् । उनीहरुलाई शिक्षा, भूमिसुधार तथा श्रम मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयबाट सरुवा गरी स्थानीय तहमा पठाइएको थियो ।

सामान्यले सरुवा गरी पठाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयले सम्बन्धित ठाउँमा हाजिरी गर्न पठाउनुपर्ने मन्त्रालयको भनाइ छ । सामान्यले सरुवा गरेर पठाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयले काजमा आफ्नो कार्यालयमा राखेका कारण सरुवा भएका कर्मचारी सम्बन्धित ठाउँमा नगएको निष्कर्ष सामान्य प्रशासनले निकालेको छ ।

LIVE TV