२० माघ २०७४, शनिबार

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम नतिजा फागुन ५ गते भित्र दिने निर्वाचन आयोगले तयारी थालेको छ ।

समानुपातिक निर्वाचन निर्देशिका संशोधन गर्दै आयोगले सातदिनबाट नतिजा घोषणा गर्ने समय तीन दिनमा झारेको हो ।

प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना बढेपछि केही दिन छिटो दिन आयोगले निर्देशिका संशोधन गरेको हो । निर्वाचन आयोग प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारीमा छ । संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभा निर्वाचन परिणाम दिन राष्ट्रिय सभा निर्वाचन पर्खिनुपरेको आयोगले बताउँदै आएको छ ।

ढिलोमा फागुन ५ गते प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकिने आयोगको तयारी रहेको छ । राष्ट्रिय सभाको परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गरिने तयारी छ ।

दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन् । राजनीतिक दलले विजयीको नाम बुझाइसकेपछि नमिलेका विषय मिलाउन फेरि पाउने समयसीमा पनि घटाइएको छ ।

यसअघि दलले नाम बुझाएपछि आवश्यक अध्ययन गरी आयोगले नमिलेको विषय मिलाउन ३ दिन समय दिने प्रावधानलाई २ दिनमा झारिएको छ । आयोगले समयसीमा घटाउन समानुपातिक निर्वाचन निर्देशिकाको दफा ३४ र ३५ को प्रावधान संशोधन गरिएको छ ।

LIVE TV