१९ माघ २०७४, शुक्रबार

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा कानुन विपरित नगर्न आग्रह गरेको छ । काठमाडौका बिभिन्न अस्पतालमा मेडिकल काउन्सिलको अनुमति विना काम गरिरहेका चिकित्सक र अस्पतालका सञ्चालकलाई पक्राउ गरेको सीआइबीले अनुसन्धानको क्रममा यस्तो आग्रह गरेको हो ।

नेपाल मेडिकल काउन्सिलको सहकार्यमा सिआईबीले छापा मार्दा काउन्सिलको अनुमति नलिई विभिन्न अस्पतालमा काम गर्दै आएका चिकित्सक र संचालक सहित १७ जनालाई पक्राउ गरेको हो । पक्राउ पछि अदालतको आदेश अनुसार हिरासत मै राखेर अनुसन्धान गरिरहेको सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले बताउनु भएको छ ।

पक्राउ पर्ने धेरै विदेशी नागरिक भएकोले बयान लिंदा नेपाली भाषामा लिनु पर्ने भएकोले अनुबाद राखेरै बयान लिनु पर्दा समय अझ लम्बिन सक्ने सीआईबी प्रमुख डीआईजी कार्कीको भनाई छ ।

नेपालमा चिकित्सकको रुपमा काम गर्न नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिनुपर्छ । तर, पक्राउ परेकाहरु अधिकांशले अनुमति नलिई बिरामी जाँच्दै आएका थिए ।

नक्कली चिकित्सकले उपचार गरी ठगेको उजुरी उपभोक्ता हित संरक्षण मञ्चमा परेको थियो । दर्ता नभएका त्यस्ता चिकित्सकमाथि छानबिन गर्न मञ्चले सीआईबीमा उजुरी दिएको थियो । सीआइबीले मेडिकल काउन्सिलको सहयोग लिएर छापा मार्दा पक्राउ परेकाहरुमाथि ठगी मुद्दा चलाइएको छ ।

LIVE TV