१८ माघ २०७४, बिहीबार

काठमाडौं । तीन तहको विधायिकाको अभ्यास सुरु भएको छ । तीन नम्बर प्रदेशसभाको पहिलो बैठक आज बसेसँगै मुलुकको शासकीय स्वरूप नयाँ चरणमा प्रवेश गरेको छ ।

केन्द्र र स्थानीय सरकारको अभ्यास पुरानै भएपनि प्रदेशिक संरचना नेपालका लागि नयाँ अभ्यास हो । जुन सम्भावना र चुनौतीको दोसाँधमा खडा छ ।

केन्द्र र स्थानीय सरकार जोड्ने सेतुको रुपमा रहने प्रादेशिक संरचनाका काम÷कारबाहीले नै संघीयताको भविष्य निर्धारण गर्ने छ । संघीयताले मुलुकलाई आर्थिक बोझ थपेको नकारात्मक टिप्पणीबीच स्रोत जुटाउने भन्दा प्रदेशसभा र सरकारको औचित्य पुष्टि गर्नुमा धेरै चुनौति छ ।

केन्द्रितकृत शासन व्यवस्थाले थोपरेका अवगुण, केन्द्र सरकारसँगको दूर दूरी, सानो कामका लागि पनि सिंहदरवार नै धाउनुपर्ने प्रबृत्तिको अन्त्य र समावेशी–समानतामूलक विकासका लागि संघीयता चाहिएको हो नकी केहीलाई मन्त्री र सांसद बनाउन ।

यो तथ्यलाई प्रदेशसभा र सरकारले हृदयगंम गरे भने संघीयता बोझ होइन, अबसर हुने छ । प्रदेश नम्बर ३ को पहिलो बैठकमा जसरी दलहरुले संघीय संरचनालाई जनताको अधिकार संरक्षण–प्रबद्र्धनसहित मुलुककै आर्थिक समृद्धिका लागि उपयोग गर्ने प्रतिवद्धता जनाएर सुखद सुरुवात गरेका छन् ।

प्रदेशसभाले विधि, प्रणाली र प्रक्रिया निर्धारणमा जति नै बहस नामाकरण र स्थायी राजधानी निर्धारणका लागि हुने छ । जसमा राजनीतिक स्वार्थ टकराउन सक्छ । नामाकरणमा सामूहिक अपनत्वको खोजी र सदरमुकाममा समग्र प्रदेशबासीलाई ‘न्याय’ हुनुपर्छ ।

नागरिकका दैननदिनका समस्या समाधानको थलो राजधानी नभएपनि निर्धारण बहुसंख्यक नागरिकको चाहनाको प्रतिनिधित्व भयो भने त्यसले विवाद ल्याउने छैन ।

प्रक्रियाअनुसार सभामुखको निर्वाचनपछि अब प्रदेश सरकार गठन हुनेछ । सरकारका लागि शून्यबाट सुरु गर्नुपर्ने प्रदेश शासन व्यवस्थाका लागि आवश्यक पूर्वाधार र आफनो औचित्य स्थापित गर्न प्रदेशसभा र सरकार गम्भीर बन्न जरुरी छ ।

आफनो औचित्यसहित संघीय र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई स्थापित गर्न प्रदेशसभा र सरकारले सुझबुझपूर्ण मेहनत गरेन भने परिणाम नकारात्मक आउने छ । एउटा प्रदेशले काम गरिरहँदा सिंगो मुलुक, राष्ट्रिय हितका अतिरिक्त अन्य प्रदेशको हित र अधिकारलाई पनि ख्याल गर्नुपर्ने दायित्व प्रदेशसभा र सरकारमा रहनेछ ।

त्यसैले प्रदेशको व्यवस्थापिका र कार्यपालिकाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारीरूपमा कार्यान्वयनका लागि आवश्यक संयमता र मितव्ययिता अपनाउन जरुरी छ ।

LIVE TV