१७ माघ २०७४, बुधबार

काठमाडौँ ।  प्रधानमन्त्री पदमा रहेका शेरबहादुर देउवालाई नेपालीले जति चिनेका थिए, चुनावपछि त्योभन्दा गज्जबसंग चिन्ने मौका पाए । शेरबहादुर लरतरा मानिस होइनन् । यी वास्तवमै शेर हुन् । यिनको दुस्साहसको कुनै सीमा छैन । हुन त शेरबहादुरको दुस्साहसको परिचय विगतमा पनि बारम्बार पाइएको हो । उहिले प्रतिनिधि सभाकालमा सांसद खरीदमा देउवा अग्रणी रहेका थिए । उनले ठाउँको ठाउँ सांसद किनेर सरकार टिकाउने गरेका थिए ।

सांसद किन्न देउवा यति माहिर कि उनलाई हटाउन भित्रभित्रै लागिपरेका गिरिजाप्रसाद कोइराला पनि हार खाएका थिए । केही सीप नचलेपछि गिरिजाले दुई जना सांसदलाई गायब गरेर देउवाको सरकार गिराएका थिए ।

जब्बर शेरबहादुरलाई कुनै नैतिक सीमाले छेक्दैन । अहिले उनी कामचलाउ हुन् । कामचलाउ सरकारले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने उनलाई कसैले सिकाइरहन पर्दैन । किनभने विगतमा उनी धेरै पटक कामचलाउ बनिसकेका छन् । यसपटक पनि कामचलाउ हुन् । तर, चुनाव जितेर आएको प्रधानमन्त्री जसरी देउवाले धमाधम निर्णय ठोकिरहेका छन् । देशलाई आर्थिक भार पर्ने र दूरगामी असर पर्ने नीतिगत निर्णयहरू गरिरहेका छन् । कामचलाउ सरकारले यस्तो अनैतिक काम गर्न हुँदैन भन्ने देउवालाई थाहा छ । तर, लाज पचेपछि कसैको केही नलाग्ने रहेछ । देउवाको मनपरीतन्त्रको चरम आलोचना भइरहेको छ तर उनी अरु पनि थप निर्णयहरू गर्छु भनेर धम्काइरहेका छन् ।

एकथरी कांग्रेसीहरू भन्दैछन्, ‘कांग्रेसलाई देउवाबाट बचाइदेउ ।’ कांग्रेस भनेको एउटा पार्टी हो, एउटा पार्टी सिद्धियो भने अर्काे आउँछ । तर, देउवाले देश नै सिध्याउने खतरा भयो । राष्ट्रिय ढुकुटी स्वाहा नपारी पद छाड्दिन भनेर देउवाले भीष्म प्रतिज्ञा नै गरेका हुन् ? होइन भने यसरी मनपरी खर्च गर्न र जुवाडेले उडाए जसरी ढुकुटी सक्न लाज लाग्नुपर्ने हो । लाजको सीमा तब नाघ्यो जब देउवाका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले कमाएको हो, खर्च गर्ने नैतिक अधिकार राख्छ भने । विश्वप्रकाश युवा पुस्ताबाट उदाएका सम्भावना र आशा भएका लोकप्रिय नेता हुन् । उनले देउवाको गतिछाडा मतिछाडा प्रवृत्तिमा काँध थाप्नु अत्यन्त अशोभनीय भएको छ ।

देश भनेको घर जस्तै हो, जसले कमायो उसले उडाउन पाइन्छ भन्नु गलत हो । कांग्रेसले कमाएको हो भन्दै जे गर्न पनि पाइने ? अहँ, यो हुन सक्दैन । घरमूलीले कमाएर ल्याउँछ, परिवारले बाँडीचुडी खान्छन् । घरमूलीले मैले कमाएको हो भनेर बाहिरै उडाउन पाइन्छ ? यस्तै भयो विश्वप्रकाशको कुरा । सरकारमा बसेर मेरो पालामा यति कमाइ भयो, अब कमाइ भएजति म आफै स्वाहा पार्छु भन्न कहाँ पाइन्छ । यस्तो नियत राख्नु भनेको अपराध हो ।

शेरबहादुर देउवा जुनसुकै हदसम्म राजनीतिक इमान छाड्ने नेता हुन् । विगतमा राजा ज्ञानेन्द्रसंग मिलेर पहिले उनले आफ्नै पार्टीका सभापति गिरिजाप्रसाद कोइरालालाई घात गरे । त्यसपछि प्रजातन्त्रलाई घात गरे । अन्तिममा महाराजा ज्ञानेन्द्रले नै उनलाई घात गरे । एउटा भनाई छ, बेइमानको उपयोग एउटा सीमासम्म मात्र गर्नुपर्छ । देउवालाई राजा ज्ञानेन्द्रले यही नीति अनुसार घात गरेको हुनुपर्छ । कसैलाई बाँकी नराख्ने, जसलाई पनि बेइमानी गरिहाल्ने देउवाको चरित्र देखेपछि राजा ज्ञानेन्द्रले आफैमाथि घात हुने हो कि भनेर देउवालाई नै कू गरिदिए ।

तिनै देउवा हुन् अहिले प्रधानमन्त्री । चुनाव टार्न उनले अनेक तिकडम गरे तर सकेनन् । चुनाव भयो, उनको पार्टी परास्त भयो । सत्तामा धेरै वर्षसम्म फर्किन नसकिने अवस्था भयो । त्यसपछि देउवाले म रहँदिन भने स्वाहा पार्छु, भाँडभैलो मच्चाउँछु भन्ने नीति लिए । भटाभट राजनीतिक नियुक्ति गर्ने, ढुकुटी रित्याउने, जतिसक्दो फजुल खर्च गर्ने, नीतिगत निर्णयहरू गरेर भावी सरकारको खुट्टामा अहिले नै तगारो लगाउने काम गरिरहेका छन् । अनैतिकताको पराकाष्ठा हो यो । –साँघु साप्ताहिकबाट

LIVE TV