१५ माघ २०७४, सोमबार
  • राजकमल सिंह,

धनुषा । ७ करोड ५० लाखको खर्चमा प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा प्रदेश सरकार र सांसदका लागि आवश्यक भौतिक संरचना तयारी तीव्र पारिएको छ ।

सरकारको निर्णय अनुसार शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषालाई प्राप्त ७ करोड ५० को खर्चमा भौतिक संरचना तयारीको काम अगाडि बढाइएको हो ।

सरकारले माघ ९ गते उक्त संरचना मर्मत तथा निर्माणका लागि अख्तियारी पठाएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय धनुषाका प्रमुख इन्जिनियर गंगाप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ का सरकार तथा सासंदका लागि आवश्यक भौतिक संरचनाका लागि भवन निर्माणका लागि १ करोड, पुँजिगत सुधारका लागि ५ करोड, फर्निसिंगका लागि १ करोड र मेसिन औजार खरिदका लागि ५० लाखको अख्तियारी प्राप्त भएको प्रमुख इन्जिनियर यादवले बताउनु भयो ।

शिक्षक तालिम केन्द्र जनकपुरमा प्रदेशसभा हल, प्रदेश सभामुख, उपसभामुख र प्रादेशिक कर्मचारीको कार्यकक्ष निर्माण तथा रंगरोगन गर्ने कार्य धमाधम भईरहेको छ ।

मुख्यमन्त्री, सभामुख, मन्त्री र प्रदेश प्रमुखको निवासको लागि तोकिएको जनकपुर चुरोट कारखानाको भवन समेत मर्मत र रंगरोगन तीव्र पारिएको यादवले बताउनुभयो । कारखानामा मुख्यमन्त्री तथा मन्त्रीहरुको निवास राख्ने निर्णय पश्चात १३ वटा छुट्टाछुट्टै निवासको काम अगाडि बढाईएको छ ।

भौतिक संरचनाको लागत स्टीमेट, मूल्यांकन तथा निर्माणको काम एकै पटक हुँदा रकम दुरुपयोग हुने निश्चित देखिएको प्रदेश सांसदहरुले बताएका छन् ।

लागत स्टीमेट तथा मूल्यांकन नै नगरी हचुवाको भरमा रकम खर्चिदा राज्यमाथि आर्थिक भार झन थपिएको राजपाका प्रदेश सांसद सुरिता साहको भनाई छ ।

रकम दुरुपयोग रोक्नका लागि प्रभावकारी अनुगमन तथा निगरानी राख्न सांसद साहले जोड दिनुभयो ।

माघ मसान्त भित्रै मुख्यमन्त्री, सभामुख, उपसभामुख चयन हुने सम्भावना भएकाले सो समय भित्रै भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पर्ने छ ।

प्रदेश सांसदहरुले रकम दुरुपयोग भईरहेको आरोप लगाईरंहदा डिभिजन कार्यालय प्रमुख यादवले हालसम्मको यकिन खर्च विवरण नआएको प्रष्ट पार्नुभयो ।

सरकारले प्रदेश नम्बर २ मा गृह, सामाजिक विकास, आर्थिक मामिला तथा योजना पूर्वाधान विकास, कृषि, पशु, भुमिसुधार गरी ७ वटा प्रादेशिक मन्त्रालय रहने निर्णय गरेको छ । माघ २१ गते प्रदेश २ को पहिलो बैठक समेत बोलाईएको छ ।

 

LIVE TV