फोर्ड ईको स्पोर्ट : वास्तविक भन्दा अधिक मूल्य राखी उपभोक्तालाई ठगि



प्रकाशित मिति : Jan 28, 2018

काठमाडौँ : सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने चारपांग्रे सवारीसाधनमा वास्तविक मूल्यमा अतिरिक्त शुल्क लिई उपभोक्तालाई छुटको भ्रम छरी ग्राहकबाट अस्वाभाविकरूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार अनुगमनका क्रममा थापाथलीमा रहेका जीओ अटोमोबाइल्स प्रालिले ईको स्पोर्ट फोर्ड १ दशमलव ५ पेट्रोल गाडीको लागतभन्दा बढी मूल्य लिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो।

विभागले अनुगमनपछि उक्त कम्पनीले बेच्ने गरेका सवारी साधनको मूल्य बढ्नुको कारणसहित ३ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो। कम्पनीका प्रबन्धक तेजकरण जैनले बिहीबार विभागमा आएर गाडीको मूल्य वृद्धिको कारणका सम्बन्धमा स्पष्टीकरण दिए पनि मूल्य बढ्नुको कारण खुलाउन नसकेको महानिर्देशक दाहालले बताउनुभयो। ‘हामीले पहिलो चरणको स्पष्टीकरणमा चित्तोबुझ्दो जवाफ नपाएपछि फेरि तीन दिनभित्र लिखित स्पष्टीकरण र आवश्यक कागजात पेस गर्न निर्देशन दिएका छौं।

लिखित जवाफबाट पनि गाडीको मूल्य बढ्नुको कारण खुलाउन नसके हामी ठगी मुद्दाका लागि सिफारिस गर्छौं’ – दाहालले भन्नुभयो। जीओ अटोमोबाइल्स प्रालिले ‘इको स्पोर्ट फोर्ड’ १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्यमा जम्मा लागत २२ लाख ५८ हजार २ सय ९२ रुपियाँ उल्लेख भएको देखिए पनि उक्त गाडी २४ लाख ८६ हजार ७ सय २५ रुपियाँमा बिक्री गरेको देखिन्छ। यसरी इको स्पोर्ट गाडीको बिक्रीमा कम्पनीले ग्राहकसँग २ लाख २८ हजार ४ सय ३२ रुपियाँ बढी लिइएको देखिन्छ। तर, कम्पनीले गाडीको वास्तविक मूल्यभन्दा बढाएको मूल्यमा ३ लाख ३६ हजार २ सय ८३ रुपियाँ छुट दिएको देखिन्छ। विभागले वास्तविक मूल्यभन्दा बढाई बिल जारी गर्नुको कारण स्पष्ट हुन नसकेको जनाएको छ। वास्तविक मूल्यभन्दा बढी मूल्य लिएर कम्पनीले ग्राहकलाई भारी छुटको भ्रम छर्दै आएको विभागको भनाइ छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उक्त कम्पनीलाई के कति कारणले मूल्यमा फरक भएको हो ३ दिनभित्र लिखित जवाफ पेस गर्न दोस्रोपटक निर्देशन दिएको छ। बिहीबार जैनले दिएको बयान चित्तबुझ्दो नभेटिएकाले दोस्रो चरणको स्पष्टीकरण माग गरिएको बुझिएको छ। दोस्रो चरणको स्पष्टीकरण विभागलाई चित्त नबुझेको खण्डमा अनुगमनका क्रममा भेटिएका कैफियतबमोजिम ठगीको मुद्दा दर्ताका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्र काटिने विभागले जनाएको छ।

कम्पनीले बेच्ने गरेका गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिएको अनुगमन र प्रारम्भिक चरणको बयानबाट देखिएको विभागले जनाएको छ। गाडी बिक्रेता तथा वितरक कम्पनीले हरेक ग्राहकलाई गाडी खरिदमा विज्ञापन खर्च, प्रशासनिक खर्च, कर्मचारी तलब खर्च, पेट्रोल, मोबिल, हिटर फिटिङ, एक्ससरिज डेलिभरिजस्ता शीर्षकमा थप रकम असुल्ने गरेका छन्। त्यति मात्र नभई बिक्रेता कम्पनीले उपभोक्तालाई बैंक ब्याज, गाडी बिक्री हुनु अघि शोरुममा पार्क गरेको शुल्कसमेत उपभोक्तालाई तिराउने गरेका छन्।

आकाश गोल्छा,कार्यकारी निर्देशक
जीओ अटोमोबाइल्स

जीओ अटोमोबाइल्सका कार्यकारी निर्देशक आकाश गोल्छाले कुनै वस्तु तथा सेवाको खरिद र बिक्री मूल्यमा देखिने मार्जिन (ग्रस प्रोफिट) मा अलग–अलग खर्च समावेश हुने गरेको तथा सो शुल्कसमेत जोडेर गाडी बिक्री गर्दा आएको नाफा (नेट प्रोफिट) मात्र कम्पनीले लिने गरेको बताउनुभयो।

विश्वव्यापी रूपमा स्थापित व्यवसायको यही सिद्धान्तलाई आधार मानी व्यापार अघि बढेको गोल्छाको दाबी छ। आयकर तिर्दा पनि कम्पनीले सोहीअनुसार तिर्दै आएको तथा यदि व्यापारीलाई केही नाफा नरहने हो भने व्यवसाय गर्नुको पनि औचित्य नरहेको उहाँको भनाइ छ। वस्तु बिक्रेता कम्पनीले आफूले किनेको मूल्य र भन्सारपछिको मूल्यमा बाहेक यातायात खर्र्च भण्डारण खर्चलगायत विभिन्न खर्च थपिँदै जाने हुनाले कम्पनीको खरिद मूल्य र उपभोक्तालाई बिक्री गर्ने मूल्य समान हुनै नसक्ने उहाँले दाबी गर्नुभयो।

 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com