११ माघ २०७४, बिहीबार
  • राजकमल सिंह,

धनुषा । सरकारले विरामीसंग चर्को शुल्क लिनु हुँदैन भन्ने आवाज उठिरहेको समयमा जनकपुरका नाम चलेका अस्पतालले विरामीलाई ठगी गरिरहेको खुलेको छ ।

निजी स्तरबाट सञ्चालित जनकपुरको आस्था अस्पतालले विरामीबाट मनपरी शुल्क लिने गरेको पाईएको छ ।

अस्पतालमा उपचारका लागि आउने विरामीबाट प्याकेजमा उपचार गर्ने सम्झौता गरेर पछि चर्को शुल्क लिने गरेको तथ्य सार्वजनिक भएपछि आस्था अस्पतालको ठगी धन्दा बाहिर आएको हो ।

जनकपुर उपमहानगरपालिका वडा नं.१९ जमुनिया निवासी रञ्जीता मण्डलको प्रसुति प्रकरणमा अस्पतालले शुल्कमा गर्न खोजेको मनोमानी छर्लङ्ग भएको छ । ५ सय भर्ना शुल्क तिरेर उपचार मण्डलको उपचार सुरु भयो ।

तर उपचारमा संलग्न चिकित्सक निलम चौधरीले गर्भमा रहेको बच्चाको चाल(धड्कन) कम रहेको भन्दै शल्यक्रिया गर्न भनेपछि अस्पतालका म्यानेजर मुकेश यादवले २८ हजारको प्याकेजमा मण्डलको अपरेशन गर्ने सहमति भएको उनका जेठाजु श्याम कुमार मण्डलले बताउँछन् ।

प्याकेजमै अपरेशन हुने भएपछि तत्काल ५ हजार तिरेको तर डिस्चार्ज हुने बेलामा अस्पतालले ९४ हजारको बिल हातमा थमाएपछि आफु आश्चर्यमा परेको श्याम बताउँछन् । अस्पातलको ठगि सम्बन्धमा विवाद बढेपछि उक्त शुल्क कम गरेर ७४ हजार तिर्न लगाएको श्यामले बताए ।
प्याकेजमा शल्यक्रिया गर्ने सहमति अनुसार नै मण्डलसंग शुल्क लिएको अस्पतालका म्यानेजर मुकेश यादवको दावी छ ।

अस्पतालका संचालक तथा चिकित्सक निलम चौधरी यस घटना सम्बन्धमा सम्पर्कमा आउन चाहेनन् । दलाल मार्फत उपचारका लागि आस्था हस्पिटल पुगेका मण्डल एक प्रतिनिधि घटना मात्र हुन् । स्वास्थ क्षेत्रको प्रभावकारी अनुगमन नहुँदा जनकपुरका अधिकांश अस्पताल यस्तो गतिविधिमा संलग्न रहेको पाइन्छ ।

LIVE TV