११ माघ २०७४, बिहीबार

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ हुने भएका छन् ।

बादललाई अध्यक्ष हुने गरी राष्ट्रिय सभा सदस्यमा अघि सारिएको हो । उनी राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका बाम गठबन्धनका ‘हेवीवेट’ नेता हुन् ।

त्यसैले पनि उनी निर्विकल्प देखिएका छन् । बादललाई अध्यक्ष बनाउन एमालेले कुनै पनि हेभीवेट नेता राष्ट्रिय सभामा पठाएन् । राष्ट्रिय सभाको अध्यक्षको चर्चामा रहेका युवराज ज्ञवाली, अमृतकुमार बोहोरा र महेन्द्र पाण्डे एमालेबाट राष्ट्रिय सभामा गएनन् ।

राष्ट्रिय सभामा सिफारिस भएकाहरुमध्ये गणेश तिमिल्सिना, खिमलाल भट्टराई र बेदुराम भुसालमात्र एमालेका सिनियर नेता हुन् । उनीहरु पनि पोलिटव्युरो सदस्य मात्रै हुन् ।

जबकी बादलले पार्टीको महासचिवको रुपमा माओवादीमा काम गरिसकेका छन् । राष्ट्रपतिको रुपमा समेत अगाडि सार्नुपर्ने विषयमा माओवादी केन्द्रभित्र बहस भइरहेका बेला उनीलाई राष्ट्रिय सभामा पठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि उनलाई राष्ट्रिय सभामा लगिएको स्रोतको दाबी छ । यही सुझबुझका साथ माओवादीले बादललाई राष्ट्रिय सभामा पठायो भने एमालेले कुनै पनि सिनियर नेतालाई राष्ट्रिय सभामै पठाएन ।

पार्टी एकताको औपचारिक प्रक्रिया बाँकी नै रहे पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई आफ्ना पार्टीभित्रको नेताको व्यवस्थापन उत्तिकै टाउको दुखाईको विषय छ । राष्ट्रिय सभाको अध्यक्षमा बादललाई व्यवस्थापन गर्दा राष्ट्रपतिमा अर्को नेताको व्यवस्थापन गर्न सकिन्छ ।

एमालेबाट वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिका लागि आफू तयार रहेको बताइसकेका छन् भने वर्तमान राष्ट्रपति र उपराष्ट्रपति पनि आफै दोहोरिने प्रयत्नमा छन् ।

LIVE TV