१० माघ २०७४, बुधबार

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बु (चेमजोङ )भारतको आइ लिग क्लब मिनेर्भा पञ्जावमा आवद्ध भएका छन् । यो सँगै उनको व्यावसायिक करिअरले फड्को मारेको छ । मंगलबार पञ्जावले किरणलाई क्लबमा आवद्ध भएको घोषणा गरेपनि उनीसँग गरिएको सम्झौता रकम खुलाईएको छैन।

नेपालका पहिलो रोजाइमा पर्ने गोलकिपर किरण सामू अब भारतको माथिल्लो डिभिजनको फुटबल लिगको शीर्ष स्थानमा रहेको पञ्जावको पहिलो रोजाइमा पर्नुपर्ने चुनौती छ । पञ्जावले सुरुवाती ९ वटै खेलमा गोलकिपरमा रक्षित दागरलाई खेलाएको छ। अर्का गोलकिपर अर्शदिप सिंहले भने सिजनमा अहिलेसम्म मौका पाउन सकेका छैनन्। गोलकिपर भस्कर रोएले पञ्जाव छाडेपछि किरणसँग सम्झौता गरिएको हो। किरण, रक्षित र अर्शदिप मध्ये किरण अनुभवी देखिएका छन्।

आइलिगको उपाधि जित्ने अभियानमा रहेको पञ्जावले सिजनका सुरुवातमा मौका दिएका रक्षितले पछिल्ला २ खेलमा पहेंलो कार्ड पाएका थिए। पञ्जावले गत माघ ४ गते सिलोङ लोजाङलाई १–० गोलले पराजित गर्दा रक्षितले अन्तिम समयमा पहेंलो कार्ड पाए। त्यसअघि पञ्जावले मोहन बगानलाई पनि २–१ गोलले हराएको थियो।

खेलमा रक्षितसहित पञ्जावका ३ खेलाडीले पहेँलो कार्ड पाएका थिए। राष्ट्रिय टिमको अनुभव नभएका रक्षित अघिल्ला २ सिजन शिभाजिया एफसीमा आवद्ध थिए। तर उनले एक खेलमा पनि मौका पाएनन्। शिभाजियन गत सिजन आई–लिगबाट रेलिगेशनमा परेको थियो। त्यसअघि रक्षितले सन् २०१२ देखि २०१४ देखि सिक्किम युनाइटेडबाट ६ खेलमा मौका पाएका थिए। सिक्किम अहिले भारतको दोस्रो डिभिजनको लिग खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV