१० माघ २०७४, बुधबार

रसुवा । चीनबाट नेपालमा आयात हुने कृषिजन्य सामग्रीको आयात करिब ३४ प्रतिशतले घटेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामाको अवधिमा सो अनुपातमा आयात घटेको हो ।
गत वर्षहरुमा नेपालमा सबैभन्दा बढी आयात हुने गरेको स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुुन्द्रुकको आयात घटेसँगै कृषिजन्य सामग्री आयातमा भारी गिरावट आएको हो । गत वर्षको साउनदेखि पुस मसान्तसम्ममा एक अर्ब ७२ लाख दुई हजारको सामग्री आयात भएको थियो तर यो वर्ष ६५ करोड ३३ लाख ४८ हजारको सामग्री आएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ ।

कार्यालयका अनुसार यो वर्ष करुको पीठो, रेडिमेट मसला, ड्राइ मसरुम, क्वाची, बदाम, प्याज, कफि र ओखरको आयातमा बृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुष मसान्तसम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ । गत वर्ष १९ हजार सात सय ६३ मेट्रिक टन सामग्री आयात भएको प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादबले बताउनुभयो ।

चीनबाट कृषिजन्य सामग्री आयातमा कमि आएको भएपनि निर्यातमा भने उल्लेख्य बृद्धि भएको छ । प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादबका अनुसार ३१६।३९ प्रतिशतले निर्यातमा बृद्धि भएको हो । तीन करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको छ ।

१२ हजार आठ सय ८० ओटा बाँसको मुडा निर्यात गर्दा ३१ लाख २० हजार, तीन हजार दुई सय ५० केजी काठको टेबलबाट २ करोड ६० लाख र १९ हजार दुई सय केजी अम्रिसोको कुचो निर्यात गर्दा २८ लाख ८० हजार आम्दानी भएको अधिकृत यादबले बताउनुभयो ।

गत वर्ष साउनदेखि पुस मसान्तसम्म ७६ लाख ८५ हजारको सामग्री निर्यात भएको थियो । सामग्री आयात घटेर निर्यात बढ्नु देशको लागि सकरात्मक कुरा भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV