१० माघ २०७४, बुधबार

काठमाडौं । पछिल्लो समय कानुनको पालना गराउने प्रहरी नै अपराधमा संलग्न हुन थालेका छन् । प्रहरी भन्दैमा अपराध गर्ने छुट हुँदैन । तर काठमाडौंमा तिन जना प्रहरी प्रहरीकै हिरासतमा पुगेका छन् । जसमध्ये दुई जना लागुऔषध सेवन तथा कारोबारमा र एक जना वन्यजन्तुको अंग कारोबार मुद्दामा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले असई सुमित सिटौलालाई पक्राउ गरी लागुऔषध मुद्दामा कारबाही अघि बढाएको छ। उनीसँग करिब एक सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। संघीय प्रहरी इकाइ बाग्मतीमा कार्यरत असई सिटौला तालिमको क्रममा प्रहरी एकेडेमीमा रहेका बेला पक्राउ परेका हुन्।

त्यस्तै गत शनिबार महानगरीय अपराध महाशाखाले हवल्दार जनक बोहरालाई चितुवाको छालासहित पक्राउ गर्यो। बैतडीका दुई साथीसँग मिलेर चितुवाको छाला बेचेर पैसा कमाउन खोज्दा उनी प्रहरीकै फन्दामा परे। जिल्ला वन कार्यालयले थुनामा राखेर उनीमाथि मुद्दा अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाले आफ्नै एक प्रहरीलाई लागुऔषध मुद्दा चलाएको छ। सिभिलमा काम गर्ने जवान खिलाराज मगरलाई लागुऔषध मुद्दा चलाएको छ।

सिभिलमा काम गर्ने मगरले लागुऔषध कारोबारीहरुसँग बरामद भएको लागुऔषध आफैं राख्ने र घुस लिएर उनीहरुलाई छाडिदिने गरेका थिए। बरामद भएको लागुऔषध अन्य दुर्व्यसनीहरुलाई बेच्दै आएका थिए।

महानगरीय प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेका एक लागुऔषध दुर्व्यसनीले उनीसँग लागुऔषध किनेको खुलेपछि जनसेवा वृत्तले नै उनलाई हिरासतमा राखी मुद्दा चलाएको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV