१० माघ २०७४, बुधबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर गत आर्थिक वर्ष २०७३ र ७४मा ९ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

यसबाट निगमले कर्मचारीलाई वितरण गर्न थप करिब ५६ करोड रुपैयाँ बोनसका छुट्याएको छ । अब निगममा बाँड्न बाँकी बोनस रकम झण्डै ३ अर्ब रूपैयाँ पुगेको छ ।

तर, आयल निगम तत्कालै छुट्याइएको कुनै बोनस रकम बाँड्ने पक्षमा छैन । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई तत्काल कुनै पनि बोनस नबाँडिने बताउँछन् ।

संस्था समस्यामा हुँदा(हुँदै ठूलो रकम बोनसका रुपमा बुझ्न लागेको भन्दै तीव्र आलोचाना भएपछि निगमका कर्मचारीले विगत ३ वर्षदेखि यस्तो रकम लिएका छैनन् ।

‘हामीलाई सरकारको निर्देशन नै बोनस नबाँड्नू भन्ने छ । त्यसैले सरकारी स्रेस्ता प्रणाली अनुसार बोनसका लागि उल्लेख हुनुपर्ने रकम कायम मात्रै गरिएको हो,’ कार्यकारी भट्टराई भन्छन्,’ स्पष्ट रूपमा भन्छौं, यसको वितरण तत्काल गरिँदैन ।’

लामो समय घाटामा रहेको ३ वर्षदेखि आयल निगम निरन्तर नाफामा छ । आयल निगमले बोनस बापतको रकम बोनस ऐन र आफ्नो विनियमावलीअनुसार नै छुट्याइएको दावी गर्ने गरेको छ ।

यो वर्ष नयाँ बोनस ऐन आएकाले अर्को वर्षबाट नयाँ नियमअनुसार नै बोनस छुट्याइने निगमका एक लेखा अधिकारी बताउँछन् । निगमले गत वर्ष पनि झण्डै १ अर्ब १४ करोड र त्यसभन्दा अघिल्लो वर्ष ९० करोड रुपैयाँ रकम बोनसका रुपमा छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV