१० माघ २०७४, बुधबार

उपभोक्ताबाट करोडौँ रकम ठगेर मोटाउन पल्केको सुजुकी कारको आधिकारीक बिक्रेता तथा चौधरी समूहको अन्र्तगत रहेको अरुण इन्टरकन्टिनेन्टल टेडर्सलाई कारबाही हुन सकेको छैन । प्रहरी परिसर ललितपुर पुगेको ठगीको फाइल उपर अनुसन्धान भइरहेको भनिएपनि कम्पनीलाई अहिलेसम्म कारवाहीको दायरा तानिएको छैन भने कालोवजारीमा कारवाही हुनुपर्ने कम्पनीमा अहिलेपनि निर्धक्क कारोबार भइरहेको छ । उच्च राजनीतिक पहुँच र ठूलो व्यापारीक घरानाकोे रुपमा परिचित सुजुकी गाडीको बिक्रेता रहेको चौधरी ग्रुपले कारबाहीबाट उन्मुक्ति पाउँनुलाई रहस्यको दृष्टिले हेरिएको छ ।

चौधरी ग्रुपको लगानी रहेको अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले महँगो शुल्कमा सवारीसाधन बिक्री गरेर उपभोक्ता ठगी गरेको प्रमाणसहित उजुरी गर्दा पनि सरोकारवाला निकायले कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित ९ लाख ९६ हजार रुपैयाँमा आउने गाडीलाई विभिन्न शीर्षकमा गैरकानुनी कर जोडेर १५ लाख देखि १८ लाख रुपैयाँ सम्ममा बिक्री गरेको प्रमाणसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ३ साताअघि नै महानगरीय प्रहरी परिसर, ललितपुरलाई उपभोक्ता ठगेको प्रमाणसहित कारबाही गर्न पत्राचार गरेको थियो । ललितपुर प्रहरीले अनुसन्धान भइरहेको बताएको छ तर कालोबजारी ऐन अन्र्तगत कारवाही हुनुपर्ने अरुण कन्टिनेन्टल कारवाहीको दायरामा तानिएकै छैन।

कानुनमा कालोबजारी तथा अन्य अपराध तथा सजायँ ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठहरिनेछ । ऐनअन्तर्गत मालवस्तुको उत्पादक, आयातकर्ता वा वितरकले निर्धारित मूल्यभन्दा बढी मोल लिई कसैले कुनै वस्तु बिक्री गर्न पाइँदैन । यस्तो कार्य गरेमा मालसामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफतसहित यस्तो काम गर्नेलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

सुजुकी कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले भारतीय कम्पनीसँग प्रति गाडी २ लाख ७५ हजार ५ सय ८० मा खरिद गरेको भएपनि उपभोक्तासँग भने १४ लाख ९९ सय हजार भन्दा बढी रकम असुली गरि निर्वाध कालोबजारी गरि नै रहेको छ । उसले १ हजार ३ सय वटा गाडी बिक्री गर्दा ४३ करोड रुपैयाँभन्दा बढी रकम उपभोक्ताबाट ठगेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले प्रहरीलाई सप्रमाण कारवाहीका लागि पत्र लेखेको छ ।

अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले प्रतिगाडी विज्ञापन खर्चबापत ९६ हजार र कर्मचारीलाई तलबलगायत प्रशासनिक खर्चबापत ३६ हजार रुपैयाँ उपभोक्तालाई नै तिर्न लगाएर ठगी गरेको पनि पाइएको छ । यो कम्पनीले बैंकको ब्याज भन्दै उपभोक्तालाई प्रतिगाडी २७ हजार ५ सय रुपियाँ तिर्न लगाएको छ । साथै गाडी बिक्री हुनुअघि सोरुममा पार्किङ गरेको शुल्क भन्दै २० हजार रुपैयाँ उपभोक्तासँग लिएको देखिएको छ ।

विभिन्न शिर्षकमा उपभोक्तालाई अरुण कन्टिनेन्टलले पाइला पाइलामा ठग्ने गरेको भेटिएपनि कुनै कारबाही नै भएको छैन । चौधरी समूहको लगानी रहेको अरुण कन्टिनेन्टललाई कारवाही नहुनले कालोबाजरी गर्नेहरुलाई प्रोत्साहन मिलेको छ । ठूलो व्यापारी घरानाको दावी गर्दै आएको चौधरी समूह अन्र्तगत रहेको अरुण कन्टिनेन्टललाई तत्काल कानुनी दायरामा ल्याएर कालोबजारी ऐन अन्र्तगत कारवाही चलाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV