९ माघ २०७४, मंगलवार

बागलुङ । ढकमक्क फूलले छोप्ने आँगनमा घाँस झाँगिएको छ । कलकल पानी बहने धारामा कमिला डुल्दछन् । पिँढी ओध्रिएर बाख्रा बाँध्ने थरी थस्तो देखिन्छ । रातो माटोमा टल्कने भित्ता उजाडिएको छ ।

झ्यालढोकाले असली रुप फेरेका छन् । छानो चुहिने भएको छ । वर्षौंदेखि न आगो न उज्यालो । एउटा यस्तै उदास घर छ । गलकोट नगरपालिका–७ मल्म, कोलमा । कैयौँलाई पाले, हुर्काएको घर आज किन एक्लो छ ? मेहनत र पसिनाको जगमा उठेको घर किन मानिसदेखि पर छ

कुनैबेला दुःख, सुख बिसाउने आँगन किन आफैँ रोगी छ ? घरमात्रै होइन, गोठ, बारी अलि परका खर्क, खलिआन सबै उस्तै छन् । त्यही उदास घरजस्तै । हिजो हराभरा लाग्ने घर आज कुनै आदिम गल्ली जस्तो सुनसान छ ।

यस्ता कैयौँ घर छन्, जसले गाउँ रित्तिँदै गएको भान दिलाउँछन् । जति माथि–माथि चढ्यो उति यस्तै–यस्तै घर । साविक मल्म गाविस– ९ को खाली गाउँ, आधा दशकदेखि लगभग खाली छ । यहाँ चलेको बसाइँ सराइको हावाले मल्मका अन्य बस्ती र टोललाई छोएको छ ।

भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण बेँसी र शहर झरेपछि गाउँ रित्तिँदै गएको हो । बसाइँ सराइ मल्मको अहिले मुख्य चुनौती बनेको छ । आर्थिक, सामाजिक, राजनीतिक रुपमा सबल र सचेत भएर पनि नगरपालिकाभित्रैको मल्मले किन चरम बसाइँ सराइ भोगिरहेको छ त ? धेरैको बुझाइ छ, मानिस सुविधाभोगी भए । मल्म, कोल ९हाल चितवन० बस्ने राजकुमारी थापाको जवाफ मिल्दोजुल्दो छ ।

“छोराछोरी सुविधा भएको ठाउँमा बस्न खोजे, सुविधाको खोजीले यस्तो भएको हो”, उहाँले भन्नुभयो, “बाध्यताले जहाँ गए पनि आफ्नो थलो बिर्सन सकिन्न ।”

चाडबाडका बखत मल्म आउनुभएकी थापाले घरजग्गा भने नबेचेको बताउनुभयो । छोराछोरी सबै विदेश भएपछि घरखेत गरेर खाने कोही नभएको उहाँको गुनासो छ । थापाका एक छोरा अमेरिका र अर्का जापानमा कार्यरत हुनुहुन्छ । कान्छो छोरा र नातिनातिनासहित थापा अहिले चितवनमा बस्दै आउनुभएको छ ।

मल्मको उपल्लो भेगका बासिन्दामा सुविधाको ठाउँ सरेर जाने प्रवृत्ति अहिले पनि उस्तै छ । मध्यपहाडी लोकमार्ग र बेँसी आसपासमा भने बसाइँ सराइले उति ठूलो प्रभाव पारेको छैन ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा बढीजसो शहरी क्षेत्रमा बसाइँ सराइ गर्ने गरेको वडाध्यक्ष टीकाबहादुर थापाले बताउनुभयो । व्यक्तिको आर्थिक हैसियतअनुसार बसाइँ सराइको प्रवृत्ति निर्धारण हुने गरेको उहाँको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV