८ माघ २०७४, सोमबार
  • तारा आचार्य,

मोरङ । भनियो अब गाउँगाउँमा सिंहदरबार । स्थानीय तहको निर्वाचन हुँदा फेसन नै बनेको यो नाराले मतदाताको कानमा राम्रो वतास चलाएको थियो ।

मतदाता लठ्ठ पनि परे । उनीहरुले ठाने अब दुःखका दिन गए । तर दुर्भाग्य अझै गाविस सचिव खोज्दै सदरमुकाम धाउनु पर्ने धेरै गाउँका रोगहरु अझै निको भएका छैनन् ।

यो त गाउँघरको पीडा हो तर निर्वाचनकै समयमा पारेर महानगरपालिका बनेको विराटनगरको पीडा पनि उस्तै छ अझै ।

विराटनगरका स्थानीयले जनप्रतिनिधिहरु आए पछि के के न हुन्छ भन्ने सोचेका थिए तर उनीहरु अहिले जुनै जोगी आएपनि कान चिरेको भन्न बाध्य बनेका छन् ।

लामो समय पछि भएको स्थानीय निर्वाचनका बेलामा उमेद्धवारी गर्दा घोषणापत्रमा उल्लेख भए जस्तो काम केही पनि नहुँदा विराटनगरवासीमा निराशा छाउन थालेको छ यतिखेर ।

विराटनगरवासीले बर्षा याममा हिलो र हिउँदमा धुलोको सामना अझै गर्नु परिरहेको छ ।

विराटनगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले निर्वाचित भए पछि पदभार सम्हाल्ने वित्तिकै एक सय दिनमा गर्ने कामको सूची सार्वजनिक गरेका थिए ।

सवै भन्दा पहिले महानगरपालिका भित्र बाटामा भएका खाल्डा खुल्डी पुर्ने ,९० बर्ष माथिका बृद्धबृद्धाहरुलाई घरघरमा पुगेर बृद्ध भत्ता बाँड्ने, मोतिया विन्दुरहित विराटनगर बनाउने, छोरी बचाउ अभियान संचालन गर्ने पहिलो सन्तानका रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप ३ हजार रुपैयाँ दिने जस्ता सुची सार्वजनिक गरेका थिए । तर सार्वजनिक गरिएको सूची हराएको गुनासो विराटनगरवासीको छ ।

महानगरपालिकाका मेयर पराजुली भने धेरै काम भएको र एक बर्षको सुचना सार्वजनिक गरेर महानगरपालिका भित्र धेरै योजनाहरु ल्याईएको दावी गर्नुहुन्छ ।

यता महानगरकी उपप्रमुख इन्दिरा कार्कीले विकास निर्माणका कामहरु भईरहेको र जनताले सोचे जतिको विकासका काम हुन नसकेको स्वीकार गर्नुहुन्छ ।

जनता र जनप्रतिनिधिबीच धेरै लामो समयको अन्तर भएका कारण जनचाहना अनुसारको काम गर्न नसकिएको उहाँको ठम्याई छ ।
जनप्रतिनिधिहरु आए पछि धेरै ठूलो काम हुने भरोसा गरेका सर्व साधारणहरु सामान्य काम पनि हुन नसकेको गुनासो गर्दै आएका छन् ।

नाला खन्ने काम लथालिगं पारिएकोमा विराटनगरवासीको चित्त दुखाई छ । बाटो जताततै भत्काउँदा उनीहरुमा सकस थपिएको पनि छ । महानगरपालिकाले महानगरवासीको हैसियतमा जिउन देओस विराटनगरवासीको चाहना यही छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV