८ माघ २०७४, सोमबार
  • दानबहादुर बुढा,

मुगु । भैपरी आउने प्राकृतिक प्रकोपबाट बच्न पूर्व तयारी वा सतर्कता आवश्यक हुन्छ । हो, मुगुवासीले यो कुरा बुझेका छन् ।

वर्षेनी पहिरोको मार खेपिरहेका मुगु स्थित छायानाथ रारा नगरवासी पहिरो रोक्न वृक्षरोपणमा जुटेका छन् । नगरका ४ र ५ नम्बरवासीले यो साल मात्र दुई हजार विरुवा रोपेका हुन ।

राराको छायानाथ–रारा नगरपालिकाको वडा नम्बर ४ र ५ मा जिल्ला शिक्षा कार्यालय मातहतको सामुदायीक सिकाई केन्द्रले अनौपचारिक शिक्षा प्रदान गर्छ । केन्द्रले कक्षा संचालनबाट बचेको पैसा पहिरो रोक्न सदुपयोग गरेको छ । पछिल्लो वर्ष केन्द्रले चार लाख रुपैयाँ बचत गरेको थियो ।

जुन रकम पहिरो रोक्न सदुपयोग गरेका हो । एक लाख रुपैयाँ कार्यालय भवनका लागि खर्च गरेको केन्द्रले तीन लाख रुपैयाँ बराबरको दुई हजार विरुपा रोपेको छ ।

विरुवा रोपेर मात्र भएन, हेरचहार गर्ने पनि त चाहियो । केन्द्रले एक जनालाई पारिश्रमिक दिएरै विरुवा हेरचहार गर्ने जिम्मा पनि लगाएको छ ।

छायानाथ रारा नगरपालिकाको वडा नम्बर ४ र ५ वासीलाई वर्षेनी पहिरोले सताउने गरेको छ । तर, यस क्षेत्रमा पहिरो रोकथामका लागि खासै काम भएको छैन ।

नगरपालिकाले समेत खासै चासो देखिएको देखिदैन । नगरपालिकाका मेयर हरिजंग शाही भने नगरपालिकाको मात्र प्रयासमा सबै काम सम्भव नहुने बताउँछन् । तर, पहिरोको जोखिममा रहेका सवै गाउँवस्तीमा तटबन्ध सहित वृक्षरोपणको काम जारी रहेको दावी गर्छन ।

यो क्षेत्रमा वर्षौ पहिलेदेखि पहिरो जाने गरेको छ । वर्षायाम सुरु भएपछि स्थानीयवासीलाई पहिरोकै पीरले सताउँछ । तर, यस वर्ष वृक्षारोपण भएपछि भने विस्तारै पहिरो रोकिनेमा उनीहरु आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV