८ माघ २०७४, सोमबार

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने भएको छ ।

पार्टीको जारी राजनीतिक समितिसहितको अध्यक्ष मण्डल बैठकले कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसाग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसाग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको पार्टीका नेता केशव झाले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँटको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले बताए ।

आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ । सोही योजना अनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबार नै कांग्रेस नेतृत्वसँग राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा औपचारिक छलफल अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV