८ माघ २०७४, सोमबार

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस र मधेस केन्द्रित दुई दलबीच तालमेलको प्रयास भइरहेको छ । शीर्ष नेताहरुबीच पटक–पटक छलफल अघि बढेपनि निष्कर्षमा पुग्न सकेको छैन ।

काँग्रेस र मधेस केन्द्रित दलहरुबीच प्रदेश २ मा सिट बाँडफाँटमा अझै कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच आज पनि छलफललाई निरन्तरता दिने सहमति बनेको बताइएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी दलसँग सहमति जुटाउन आन्तरिक गृहकार्य गर्न केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, रामशरण महत र मीनेन्द्र रिजाललाई जिम्मेवारी दिनुभएको छ ।

यसअघिको छलफलमा राजपा र फोरमले प्रदेश २ को ८ सिटमा ५ सिट दाबी गरेका छन् । कांग्रेससँग तालमेल नगरे पनि राजपा र फोरम गठबन्धनले २ नम्बर प्रदेशमा ४ सिट जित्ने करिब निश्चित छ । बहुमतीय पद्धतिबाट हुने निर्वाचनमा दुई सिट र एकल संक्रमणीयतर्फको निर्वाचनमा दुई सिट मधेसी गठबन्धनले जित्ने निश्चितजस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV