८ माघ २०७४, सोमबार

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का नवनिर्वाचित सांसद जीवनराम श्रेष्ठले मुलुकमा भएका स्रोत र साधनलाई अधिकतम सदुपयोग गरी देश विकास गर्न सकिने बताउनुभएको छ ।

कामपा–१५ स्थित खुसीबुमा आजदेखि सञ्चालन गरिएको ‘आकाशा वेलनेस’ सेन्टर नामक ध्यान केन्द्रको उद्घाटनमा जडीबुटी, जलस्रोत, कृषि क्षेत्रमा लगानी वृद्धि गरी समग्र मुलुकको समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

वस्तु तथा सेवामा गुणस्तरीय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले वैदिक ज्ञान तथा मौलिक परम्पराका आधारमा विकास भएका ध्यान तथा मनोविज्ञानलाई व्यावसायिक सेवाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

देशका सबै तह तथा क्षेत्रमा सकारात्मक सोच र दृष्टिकोणको खाँचो रहेको औँल्याउँदै नेता श्रेष्ठले त्यसले सर्वसाधारण मानिसलाई अनुशासित बनाउने हुँदा ध्यान भावनाको विकास गर्न यस्ता केन्द्र उपयोगी हुने बताउनुभयो ।

केन्द्रका अध्यक्ष ईन्द्र गुरुङले विभिन्न उमेर समूहका मानिसलाई पनि ध्यान तथा योगले स्वस्थ बनाउने जानकारी दिँदै मनोवैज्ञानिक प्रशिक्षण, थेरापीलगायतका सेवासमेत केन्द्रबाट उपलब्ध गराइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV