७ माघ २०७४, आईतवार
  • दानबहादुर बुढा

मुगु।  हिमपातपछि जनजीवन कष्टकर त बन्छ नै । तर, हिमाली जिल्लावासीका लागि हिमपात जीवयापनको एउटा आयाम पनि हो । हिमपात नभए हिमाली जिल्लामा हातमुख जोड्ने समस्या निम्तन्छ । त्यसैले हिमाली जिल्लामा समयमै हिमपात हुनुपर्छ । तर, यस वर्ष मुगुमा हिमपात नै भएको छैन । हिमपात नभएपछि मुगुवासीले अन्नबाली लगाउनै पाएका छैनन् । बरु, मुगुका वनपाखामा डढेलोले बितण्डा मच्चइरहेको छ ।

बिगतका बर्ष पुस महिनामै हिमपात भएर मुगु र आसपासका जिल्ला सेताम्य हुन्थे । हिमपातपछि वनजंगल र डाँडापाखा खरियाली हुन्थे, कृषकले अन्नबाली लगाउँथे । तर, यस वर्ष भने माघ वितिसक्न लाग्दा पनि हिमपात नहुँदा मुगु उजाड छ । जलवायु परिवर्तनको असर मुगुमा पनि परेको स्थानीयवासी अनुमान लगाउँछन् । हिमपात नहुँदा जौं, गहुँ, नाफल लगायतका हिउँदे बाली सुक्न थालेको रारा–छायानाथका सुमनबहादुर मल्ल बताउँछन् ।

विगतका वर्ष यो सिजनमा मुगुका डाँडाकाडा हिमपातले सेताम्य हुन्थे । तर, अचम्मको कुरा, यो वर्ष यो सिजनमा, मुगुका वन आगलागीले शखाप पार्न लागिसक्यो । एक हप्ता यता सदरमुकाम आसपासका दर्जन बढि वन क्षेत्रमा आगलागी भएको छ । डढेलोका कारण घर पालुवा पशु चौपायाको चरन क्षेत्र मासिएको छ । त्यसको प्रभाव मानिसमा पनि परेको छ । मान्छेले दैनिक प्रयोगमा ल्याउने, निगालो, बावियो, दाउरा, घाँस लगायत गैर काष्ठ वन पैदावर समेत मासिएको छ । डढेलो लागेको क्षेत्रमा १ सय ४१ घर परिवार बसोबास गर्छन् । ती मध्ये, १ सय २१ घरधुरी दलित छन् । उनीहरुको जिविका वन क्षेत्रमा पाईने वावियोमा निर्भर छ । वनमा ढलेलो लागेपछि यी दलित परिवारको दैनिकी समेत संकटमा परेको छ ।

मुगुका अधिकांश सामुदायीक वनमा डढेलो लागेको छ । तर, आगो निभाउन विशेष पहल भएको छैन । जिल्ला वन कार्यालय मुगुका निमित्त प्रमुख बसन्तकुमार शाही भने स्थानीयस्तरका नागरिकमा जनचेतनाको अभावले डढेलो लाग्ने गरेको बताउँछन् ।

मुगुका सुम्ली, सल्यान, गोदे, तातोपानी, लुम, भित्र खोला, रुगा, लिउडी लगायतको वन क्षेत्रमा आगलागी भएको छ । मुगुवासीलाई आगलागीले त पिरोलेकै छ । त्यसमाथी, हिमपात हुने सिजनमा समेत हिमपात नभएपछि मुगुवासी प्रकृतिबाट पनि ठगिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV