७ माघ २०७४, आईतवार

काठमाडौं । सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ। नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो।

नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त अपनाउने क्रममा केही भूभाग भारतरित र भारतीय भूभाग नेपालतर्फ पर्न गएको मात्र हुनसक्ने दाबी गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालको ठूलो भूभाग भारतीय क्षेत्रमा परेको भनी सञ्चार माध्यममा आइरहेको समाचार गलत रहेको बताएको हो। नदी सिमानामा पर्ने क्षेत्रहरु यथाअवस्थामै भोगचलन गर्न दिने विषयमा कूटनीतिक पहल गर्ने र भारतीय क्षेत्रमा परेको जमिनहरुको उचित क्षतिपूर्ति दिने सरकारबाट निर्देशनसमेत भएको विज्ञप्तिमा उल्लेख छ।

वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा नेपाल–भारत सीमा स्तम्भ गाडिएपछि स्थानीय बासिन्दा जग्गाविहीन बन्ने अवस्थामा पुगेका थिए।

केही समयअघि मात्र नेपाल–भारत संयुक्त सर्भेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निमार्ण गर्ने कार्यलाई तीव्रता दिएको थियो। नेपाल हुँदै भारततर्फ बग्ने सिर्सिया खोलाको धार केही वर्षदेखि परिवर्तन भएको थियो। यसैको फाइदा उठाउँदै भारतीय पक्षले परिवर्तित धारमा सीमा स्तम्भ सार्ने कार्यलाई अगाडि सारेपछि नेपाली भूभाग भारततिर गाभिएको स्थानीयबासीले बताउँदै आएका छन्। यो जग्गाको लालपुर्जा अहिले पनि नेपालीसँगै छ।

सीमा क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको आफ्नो जमिन भारतीय क्षेत्रमा पर्नेगरी सीमा स्तम्भ गाडिएको भन्दै विरोध हुन थालेपछि नापी विभागलाई अध्ययन प्रतिवेदन तयार पार्न भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV