७ माघ २०७४, आईतवार

रुपन्देही । रुपन्देहीको देवदहका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्यामा एक अभियुक्तलाई मात्र ३ लाख ५० हजार रुपैयाँको ‘सुपारी’ दिएको खुलेको छ। घटनामा संलग्न सुटर महेन्द्र भन्ने महिनारायण चौधरीलाई गुन्डा नाइके मनोज पुनले ३ लाख ५० हजार रुपैयाँ दिएको प्रहरीले जनाएको छ।

चौधरीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पुनसँग लिएको पैसामध्ये ९९ हजार रुपैयाँ बरामद समेत गरिएको सिआईबीका एसएसपी घनश्याम अर्यालले बताए।
अभियुक्त चौधरी विगतमा पनि हातहतियार मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन्।

तीन वटा पेस्तोलको प्रयोग
पौडेलको हत्यामा प्रयोग भएका तीन वटा पेस्तोल समेत प्रहरीले बरामद गरेको छ। ती पेस्तोल नवलपरासी सुनवलका पदम चौधरीले आफ्नो बारीमा लगेर लुकाएका थिए। १४ राउण्ड गोली र ३ वटा पेस्तोल प्रहरीले बरामद गरेको छ। एउटा पेस्तोल नचलेकोमा अर्को पेस्तोलबाट गोली हान्न उनीहरुले तीन वटा पेस्तोल लिएर गएको प्रहरीले जनाएको छ।

पौडेलको बारेमा सुराकी गर्ने, मोटरसाइकल र हतियारको व्यवस्थापन गर्ने जिम्मेवारी उनले पाएका थिए। उनी अपहरण मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन्।

पौडेललाई गोली हान्ने सुटर भने पक्राउ परेका छैनन्। विवेक नाम गरेका सुटरले गोली हानेको र उनी पुनको निकट व्यक्ति भएको प्रहरीले जनाएको छ।
व्यक्तिगत रिसिइवी र अरुलाई धम्काएर पैसा असुल्ने योजनासहित उनले गोली हानेको प्रहरी निष्कर्ष छ।
गत पुस २१ गते पौडेलको गोली हानी हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV