७ माघ २०७४, आईतवार

काठमाडौं । देशभरीको सडक लगायतका पूर्बाधारको निर्माणमा न्यायालय बाधक भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको गुनासो छ । प्रक्रिया पु¥याएर ठेक्का लागेका सडकहरुमा पनि न्यायाधीशहरुले स्टे अर्डर जारी गरी निर्माण रोक्दा समस्या हुने गरेको मन्त्री बलायरको जिकिर छ ।

सडक लगायतका विकास निर्माणमा अवरोध सिर्जना भएको प्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले गुनासो पोख्नुभएको हो । सडक निर्माणमा प्रक्रिया पु¥याएर ठेक्का लगाएपनि कर्मचारी, प्रशासन, न्यायालय सबैबाट असहयोग हुने गरेको उहाँको गुनासो छ ।

नेपाल इन्जिनियर एशोसियसन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्राफिक प्रहरी संयुक्तरुपमा आयोजना गरेको सडक सुरक्षासम्बन्धि सम्मेलनमा मन्त्री बलायरले कानुनमा टेकेर काम गर्दा पनि सुख नपाएको बताउनुभएको छ । उहाँले थानकोट–नाकढुंगा सडक निर्माणका लागि मन्त्रालयले गम्भीर रुपमा काम गरिरहेपनि सर्बोच्चका न्यायाधीशहरुले सबै घरहरुलाई स्टे अर्डर जारी गरिदिएका कारण सडक निर्माणमा ढिलाई भएको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राज्यले चासो लिएर काम नगरेकोले जनतालाई सास्ती भएको बताउनुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर काम गरेमा सरकारलाई विकास निर्माणमा सहज हुने धारणा राख्नुभयो । नेपालमा सडक दुर्घटना बढेकोले यसलाई न्यूनीकरण गर्नका लागि सम्मेलनको आयोजना गरिएको हो । सहभागीहरुले नेपालमा हुने सडक दुर्घटना न्युनीकरणका लागि सरकारले सडक पूर्वाधारको प्रकृतिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV