७ माघ २०७४, आईतवार

विराटनगर । सपथ खान विराटनगर झरेका धनकुटाका दुबै प्रदेश सभा सांसदहरुले १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउन सदनमा संघर्ष गर्ने घोषणा गरेका छन् ।

धनुटाका प्रदेश सांसदद्वय निरन राई र इन्द्रमणि पराजुलीले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश १ को राजधानी धनकुटा नै हुनुपर्ने तर्क गरे ।

‘तराईको उर्वर क्षेत्र खाद्यान्न र औद्योगिक विकासका लागि हो र पहाडमा आवादी बसाउन सकिन्छ’, धनकुटाका प्रदेश क का सांसद निरन राईले भने, ‘पहाडी क्षेत्रमा सबैको सुगमताका कोणमा धनकुटा सही छ र त्यहीँ राजधानी हुनुपर्ने हाम्रो माग छ । र, जनताको माग पनि यही छ ।’

धनकुटा ‘ख’ प्रदेशका सांसद इन्द्रमणि पराजुलीले प्रदेश एकमा हिमाल पहाड र तराईको सबैको सुगम र सहज क्षेत्र धनकुटा नै भएको बताए । उनले भने  ‘संघीयतामा काठमाण्डौं बाहिरका काठमाण्डौलाई नै राजधानी बनाउनु उचित हैन, नयाँ र पिछडिएका क्षेत्रलाई विकास गर्नु हो ।’

प्रदेश सांसद पराजुलीले अगाडि भने, ‘तराईका सबै क्षेत्रमा विकास र शहरीकरण राम्रो छ, तर पहाडमा छैन । त्यसैले पहाडको पनि तराईको जस्तै समानुपातिक विकासका लागि धनकुटा नै राजधानी हुनुपर्छ ।’

पहाडबाट तराईमा अनावश्यक बसाइा सराइ रोक्न पनि पहाडको धनकुटा नै राजधानी हुनुपर्ने पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV