७ माघ २०७४, आईतवार

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता छानिएका छन्।

५ नम्बर प्रदेशमा आइतबार पद तथा गोपनीयताको सपथ लिएपछि बसेको प्रदेशसभा संसदीय दलको पहिलो बैठकले पोखरेललाई संसदीय दलको नेता छानेको हो। संसदीय दलको नेता चयन भएसँगै पोखरेललाई मुख्यमन्त्री हुने बाटो खुलेको छ।

संविधानको धारा १६८ मा संसदीय दलको नेता मुख्यमन्त्री हुने र प्रदेश मन्त्रिपरिषदको गठन सम्बन्धी व्यवस्था छ। प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ संविधानमा उल्लेख छ।

७८ सांसद रहेको प्रदेश ५ मा एमालेले ४१ सिट पाएको छ। एमालेको मात्रै यो प्रदेशमा बहुमत पुग्ने देखिन्छ। एमालेले निर्वाचनबाट प्रत्यक्षमा २८ र समानुपातिकमा १३ सांसद पाएको थियो।

माओवादीसँग मिलेर वाम गठवन्धन निर्माण भएकाले पोखरेलको पक्षमा सहजै बहुमत पुग्ने देखिन्छ। यो प्रदेशमा माओवादीका २० सांसद छन्। गठवन्धनको तर्फबाट जम्मा ६१ सिट पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV