७ माघ २०७४, आईतवार

काठमाडौँ, माघ ७ गते । उपत्यकाका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण लिएर आउने बिरामी बढ्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, शिक्षण अस्पताललगायतका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण देखापर्ने बिरामी बढ्न थालेका हुन् ।

हिउँद महिना सुरु भएदेखि गर्र्मी नबढ्दासम्म इन्फ्लुएन्जा भाइरस फैलन सक्ने सम्भावना बढी भएकाले सतर्क रहन पनि चिकित्सकले आग्रह गरेका छन् । मौसमी रुघाखोकीका रूपमा देखिने इन्फ्लुएन्जा भाइरसले सुरुमा श्वासप्रश्वासमा आक्रमण गर्ने गर्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले इन्फ्लुएन्जाका बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभयो । अस्पतालमा इन्फ्लुएन्जा लागेका एक जना बिरामी आउने गरेको जानकारी दिँदै उसँंग जानकारी लिँदा घरका अन्य परिवारलाई पनि सामान्य रुघा, खोकी, ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षण रहेको पाइएको उल्लेख गर्नुभयो ।
जाडो महिनादेखि गर्मी मौसम सुरु नहँुदासम्म इन्फ्लुएन्जासँग सम्बन्धित बिरामी बढिरहने भन्दै डा. पुनले रुघा, खोकी र ज्वरोलाई सामान्य रूपमा नलिन आग्रह गर्नुभयो । उहाँले इन्फ्लुएन्जा सङ्क्रमित बिरामीसँगको अन्तरक्रियामा ती बिरामीका परिवारका सदस्यमा पनि इन्फ्लुएन्जाका लक्षण देखिएको बताएको जानकारी दिनुभयो ।

आफूले उपचार गर्न आएका बिरामीमध्ये अधिकांश एन्फुएन्जाका बिरामी रहेको उल्लेख गर्दै पुनले छ जना बिरामी भने एन्फुएन्जा बी लक्षण भएका बिरामी भेटिएको जानकारी दिनुभयो । उहाँले ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, श्वासप्रश्वासका खासगरी दम वा सीओपीडीका बिरामी, अङ्ग प्रत्यारोपण गरेका वा किड्नी डाइलाइसिस गरिरहेका र बालबालिकाले सामान्य रूपमा नलिन आग्रह गर्नुभयो ।
सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले पछिल्लो समय इन्फ्लुएन्जा भाइरसका बिरामी अत्यधिक देखापर्ने भन्दै यसलाई सामान्य रुघाखोकी मात्र भनेर बस्न नहुने बताउनुभयो । इन्फ्लुएन्जाबाट ६० वर्षमाथिका वृद्धवृद्धा, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगी, डायलासिस गराइरहेका बिरामी र अङ्ग प्रत्यारोपण गरेका बिरामीलाई तत्काल समस्या देखापर्न सक्ने भन्दै यस्ता बिरामीले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले इन्फ्लुएन्जाले आफ्नो रूप फेर्न सक्ने भन्दै पछिल्लो समय युवालाई पनि सताउने गरेको बताउनुभयो । डा. बास्तोलाले इन्फ्लुएन्जाले नेपालमा युवाको मृत्यु नभए पनि अस्ट्रेलिया, बेलायतलगायत पश्चिमा मुलुकमा भने इन्फ्लुएन्जाले रूप फेरेकै कारण युवाको मृत्यु भएको जानकारी पनि दिनुभयो ।

ग्राण्डी इन्टरनेसनल हस्पिटलका फिजिसियन डा. विनय रेग्मीले ग्राण्डी अस्पताल ओपीडीमा इन्फ्लुएन्जाको लक्षण लिएर आउने बिरामी २० जनामध्ये १२ देखि १५ जनामा इन्फ्लुएन्जा ए देखिएको जानकारी दिनुभयो । उहाँले ग्राण्डी हस्पिटलमा अझै पनि इन्फ्लुएन्जा एचवन ए वनबाट पीडित बिरामी आईसीयूमा उपचार गराइरहेको जानकारी दिँदै चितवनबाट आएका मेडिकल विद्यार्थीलाई भने उपचारपछि डिस्चार्ज गरिएको बताउनुभयो । अस्पतालमा फ्लुको लक्षण लिएर आउने बिरामीले औषधि पसलमा गएर एन्टिबायोटिक औषधि सेवन गर्ने गरेको भन्दै कतिपय अवस्थामा एन्टिबायोटिक सेवन नगरे पनि इन्फ्लुएन्जा ठीक हुने बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

यता नर्भिक अस्पतालका सञ्चार महाप्रबन्धक आरपी मैनालीले इन्फ्लुएन्जाका बिरामी ३०/३५ को सङ्ख्यामा आउने गरे पनि पाँच जना जति अस्पतालमै भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV