७ माघ २०७४, आईतवार

राजधानीको माग राख्दै वीरगन्जको घण्टार चोकमा तीन सातादेखि जारी रिले अनशनको १६ औं दिन शनिवार अनसनमा स्थानीय शिक्षक। तस्बिर : क्रान्ति शाह, वीरगन्ज

वीरगन्ज : प्रदेश नम्बर २ को राजधानीको माग राख्दै वीरगन्जमा भइरहेको आन्दोलनलाई असहयोग गर्ने र आन्दोलनको विरोधमा बोल्ने दलका नेतालाई वीरगन्ज प्रवेश निषेध गरिएको छ। तीन सातादेखि राजधानीका लागि आदोलन गर्दै आएको वीरगन्ज राजधानी संघर्ष समितिको शनिबार साँझ बसेको बैठकले आन्दोलनलाई असहयोग गर्ने र आन्दोलनका विरोधमा बोल्ने राजनीतिक दलका नेतालाई शनिबारदेखि वीरगन्जमा प्रवेश निषेध गर्ने निर्णय गरेको हो। अन्नपूर्णपोष्ट बाट

आइतबार हुने वीरगन्ज महानगरपालिकाको पहिलो नगरसभा उद्घाटनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वीरगन्ज आउने पूर्व निर्धारित कार्यक्रमलाई लक्षित गरेर संघर्ष समितिले शनिबार यो निर्णय गरेको हो।

उपेन्द्र यादवलाई आइतबार वीरगन्जमा कालो झण्डा देखाउछौँ, संघर्ष समितिका सदस्यसमेत रहेका कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ताले भने, ‘उपेन्द्र मात्र होइन जस जसले आन्दोलनलाई असहयोग गरेको छ ती नेतालाई अब वीरगन्ज छिर्न दिन्नौँ।’

वीरगन्जमा गत पुष २१ गतेदेखि रिले अनशन, विरोध प्रदर्शनसहितको आन्दोलन हुँदै आएको भएपनि खास गरी मधेसी दलले उक्त आन्दोलनमा सहभागीता जनाएको छैन। संघीय समाजवादी फोरम नेपाल र राजपाले वीरगन्जमा जारी आन्दालनलाइ नौटंकीको संज्ञा दिँदै कुनै तुक नभएको टिप्पणी गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV