७ माघ २०७४, आईतवार

दिपायल  । दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए । घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

घाइतेको राजपुरस्थित महाकाली मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोटी बन्दको २५औं दिन आज पनि जारी छ । क्षेत्रिय शिक्षा निर्देशनालयको भवनमा आन्दोलनकारीले तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीकाबीचमा झडप भएको हो । शुक्रबार सिलगढीमा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

पहाडी जिल्लाको यातायात ठप्प

७ नम्बर प्रदेशका पहाडी जिल्लाको यातायात पूर्णरुपमा ठप्प छ । प्रदेश राजधानी माग गर्दै आएका आन्दोलनकारीले पहाडी जिल्लाको प्रबेशद्धारको रुपमा रहेको डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजार बन्द गरेसँगै पहाडी जिल्लाको यातायात अबरुद्ध बनेको हो ।

प्रेस र एम्बुलेन्स माथि निगरानी

संर्घष समितिले प्रेस तथा एम्बुलेन्सलगायतका सवारी साधन चल्न रोक नलगाएको बताए पनि आन्दोलनकारीले प्रेस तथा एम्बुलेन्स माथि पनि निगरानी बढाएका छन् । आन्दोलनकारीले प्रेस लेखिएका गाडीमा पनि परिचय–पत्र चेक गर्ने, नविकरण मिति सकिए वा नसकिएको चेक गर्ने गरेका छन् । एम्बुलेन्समा विरामी भए वा नभएको, विरामी रिफर गरिएको वा नगरिएको वा विरामीको अवस्थाबारे कागजात हेरेर मात्रै आवतजावत गर्न दिएका छन् ।

अघोषित सेना परिचालन

डोटीमा अघोषितरुपमा सेना परिचालन गरिएको छ । सेना परिचालनको विषय जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले अस्वीकार गरे । तर, सिलगढीमा झडप भएपछि आज साँझबाट सिलगढी तथा दिपायल बजारमा सेनाले गस्ती गरिरहेको छ । सेना परिचालन बारे प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौँ, उहाँहरुको नियमित कार्यक्रम हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV