६ माघ २०७४, शनिबार

देशका भुतपुर्वहरुका बारे चर्चा गरौँ । भुतपुर्वहरुको सेवा सुविधा अभुतपुर्व हुँदैछ । त्यस बिषयमा चर्चा नगरी बस्न मिल्दैन ।

मुलुकमा आज यत्रो परिर्वतन आएको छ । विश्व कै अभ्यासमा सर्वोत्कृष्ठ मानिने व्यवस्थ मुलुकमा भित्राउने सम्पुर्ण नेता ज्युहरुलाई राज्यले सम्मान गर्नै पर्छ । सुख दिनै पर्छ, सुविधा दिनै पर्छ ।

तर कति ? यो विकाशोन्मुख गरिब मुलुकले आफ्ना भुतपुर्वहरुलाई आफ्नै हैसियत अनुसारको सुविधा न दिने हो । प्रत्यक ब्यक्तिले राज्यबाट सुविधा लिँदा एउटा कुरा बिर्सन मिल्दैन कि तपाईले सुविधा लिँदा चडेका गाडी, बसेको घर, थापेको तलब भत्ता मा ३ करोड नेपालीको पसिना मिसिएको छ ।

जनताले १० नङ्ग्रा खियाएर अहोरात्र खटेर कमाएकोे पैसाको कर राज्यको कोषमा जम्मा हुन्छ र त्यही पैसा खर्च गरेर बहालवाला वा भुतपुर्वलाई सुविधा दिईन्छ ।

त्यसै कारण गाडी र घरमा महंगो महंगो अत्तर छरेर पनि मेटाउन नसकिने हाम्रो पसिनाको गन्ध तपाईले सुघ्नै पर्छ । तर जनता ख्याउटे मरनच्यासे तर नेता चिल्ला चाप्ला राता पिरा सधै भइरहने हो भने त परिर्वतन को औचित्य नै सकिन्छ ।

रिटार्यड विशिष्टहरुलाई सुविधा दिन कन्जुस्याई गर्नु पर्दैन तर यसो सोचौ त । जनताले सुख पाएको भएपो भुतपुर्व ज्युहरुलाई सुविधा दिनु ।

चिसोले कठ्याङग्रिएर, निदाउन नसकेका जनताको छानो हेर्नुभएको छ ? तपाईको घरको एसी र गाडीको एसी त कुनै दिन पनि विग्रीएको छैन होला ।

एक जोर चप्पल देख्न नपाएका जनताको पट्पटी फुटेका गोडा छाम्नुभएको छ ? गोडाका त कुरै छाडीदिनुस, तपाईका ब्राण्डेड जुत्ताले पनि अचेल हिलो र धुलोसँग नाता तोडीसके ।

रोगै पिच्छेका डाक्टर तपाईको बेडरुमै चाकडी गर्न आउँछन् तर बाँदर लड्ने भिर र नाक ठोकिने उकालो चडेर स्वास्थ्य चौकीमा पुगेका जनताले डाक्टर देख्न नपाएको कति भो ?

औषधीका नाममा सिटामोल र जीवन जल बाहेक नदेखेको कति भो ? तपाईको बे्रकफास्ट , लञ्च र डिनरको मेन्यु र भेन्यु दैनिक चेन्ज हुन्छ, तपाईलाई जिताउने जनताले भरपेट पछिल्लो पटक कहिले खाएका थिए भनेर सम्झिन पनि गाह्रो छ ।

अब भन्नुस् जनतालाई छानो चाहियो कि तपाईलाई नयाँ गाडी, जनतालाई औषधी चाहियो कि तपाईलाई थप भत्ता । जनतालाई न्यानो कि तपाईलाई एसी ? जीवनको सुख, सुबिधा, पैसा, ऐस आरम त्यो पनि अनलिमिटेड चाहिनेले राजनीति गर्नु हुँदैन, व्यापार व्यवसाय गर्नुपर्छ ।

आफ्ना नागरीकलाई सुख दिएर मात्र सुविधा माग्नु पर्छ वा स्वीकार्नु पर्छ । यो देशको विकास र यस देशका नागरिककोे जीवन उकास्न मैले खासै ठुलो योगदान दिन नसकेकाले म यो राज्यले दिएको सबै सुबिधा राज्यलाई नै फिर्ता गर्न चाहन्छु ।
यत्ति भन्ने १ जना पनि भएन्न यो देशमा ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV