६ माघ २०७४, शनिबार
  • प्रेम सुनार

गुल्मी। रिडी पुग्ने रहर नगर्ने को नहोला र ? धार्मिक अनुष्ठानको हेतुले यो भूमिमा पाइल टेक्नेहरु जीवन धन्य भएको महसुस गर्छन् । हिन्दू धर्मालम्बीहरुको चार धाममध्ये एक धाम मानिने यो क्षेत्र पौराणिक महत्वको क्षेत्र हो । गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगमस्थल रुरु धामको रिडीमा श्रद्धापूर्वक तीर्थ यात्रामा जानेहरु नेपालबाट मात्र नभएर छिमेकी देश भारतबाट समेत भक्तजन आइपुग्छन् । एक रिपोर्ट

माघेसंक्रान्तिमा लाग्ने मेलाको रौनकले यस पटक सबैको ध्यान खिच्यो । माघ १ गते देखि ५ दिन सम्मलागेको मेलाको पहिलो दिन गण्डक स्नान, ऋषिकेश, रुरु कन्या र भृगतुङ्गेश्वरको दर्शन गर्न मेलामा भक्तजनहरुको उपस्थिति उल्लेखनीय थियो । १८ पुराण मध्येको एक बराहपुराणमा उल्लेख भएअनुसार रुरु क्षेत्रको धार्मिक महत्व ५ हजार वर्ष पुरानो हो । ५ हजार वर्ष पुरानो पौराणिक आख्यानअनुसार स्वर्गका राजा देवराज इन्द्रले कालीगण्डकीमा कठोर तपस्यामा बसेका देवदत्तऋषिलाई भेटेपछि स्वर्गबाट प्रम्लोचानाम गरेकी अप्सरा पठाएर देवदत्तको तपस्या भंंग गरिदिएका थिए ।

तपस्या भंगभएपछि तिनै प्रम्लोचा नाम गरेकी अप्सरासंग देवदत्तको प्रेम सम्बन्धबाट जन्मिएकी कन्यालाई रुरु नाम गरेका जंगलका मृगहरुले दुध खुवाएर हुर्काएको र तिनै रुरु कन्याको तपस्याबाट भगवान विष्णु खुशी भई रुरु कन्याको माग अुनसार कालीगण्डकी किनारमा शालीग्रामको रुपमा सधै रहने र मकर संक्रान्तिमा तीन दिनसम्म गण्डक स्नान गरी आप्mनो पूजा आराधना गरेमा सम्पूर्ण पाप मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास छ । त्यस्तै आफ्नो नामबाट यो क्षेत्र सधै प्रसिद्ध भैरहोस भन्ने रुरु कन्याको चाहनाअनुसार भगवान विष्णुले नै यस क्षेत्रको नामकरण रुरु क्षेत्र राखिदिएको मान्यता पनि छ ।

तिनै विष्णु भगवानलाई पछि पाल्पाका राजा मणिमुकुन्द सेनले गण्डक स्नानगर्ने बेलामा फेलापारेपछि ऋषिकेशका नामबाट मन्दिर बनाई राखिएको थियो । पछिल्ला वर्षहरुमा युवापुस्तामा धार्मिक अनुष्ठानमा विमुख हुँदै जान थालेकोमा सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् ।  बुढापाकाहरु तीन दिनसम्म गण्डक स्नानगर्ने, तीन दिनसम्मै ऋषिकेशको दर्शन गर्ने परम्परा पछिल्ला वर्षहरुमा हराएर गएको छ ।

माघे संक्रान्तिको दिनलाई जेठी सक्रान्ति, दोश्रोलाई माईली र तेश्रो दिनलाई कान्छी संक्रान्ति भनेर मनाउने भएपनि केही वर्ष देखि यो प्रचलन पनि तोडिएको छ । बरु विभिन्न सांस्कृतिक कार्यक्रम र स्टलहरु राखेर व्यापार ववसाय बढाउने काम भएको छ । जस्ले गर्दा आस्थाको यो धरोहर धरमराउने हो कि भन्ने चिन्ता थपिदिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV