६ माघ २०७४, शनिबार

प्रदेशसभाका सदस्यलाई आइतबार शपथ खुवाउने तयारी गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश ६ का प्रदेशसभा सदस्यलाई जिल्ला समन्वय समितिको हलमा शपथ खुवाउने तयारी गरेको छ ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले भोलि आइतबार ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनुहुनेछ । निर्वाचन आयोगले बुझाएको निर्वाचन मतपरिणामसहितको प्रतिवेदन पाएपछि खनालले प्रदेशसभा सदस्यलाई शपथ खुवाउने हुनुभएको हो । आयोगले राष्ट्रपति भवनमा शपथ गरेलगत्तै प्रदेश प्रमुखहरुलाई प्रदेशसभाको निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

शपथग्रहण समारोहमा सुर्खेतस्थित उच्च सरकारी अधिकारीलाई पनि निम्ता गरिएको छ । पत्रकार, कार्यालय प्रमुख, लब्धप्रतिष्ठित व्यक्तित्वलाई आमन्त्रण गरिएको क्षेत्रीय प्रशासनका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले जनाउनुभयो ।

प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन तालीम केन्द्रमा व्यवस्थापन गरि“दैछ । “तत्कालका लागि प्रदेश प्रमुखलाई वन तालीम केन्द्रकै भवन प्रयोग गर्न दिने सहमति भएको छ”, केन्द्र प्रमुख मुन रावतले भन्नुभयो । प्रदेश प्रमुखको आवासका लागि क्षेत्रीय वन निर्देशनालयको भवन प्रयोग गरिनेछ ।

क्षेत्रीय प्रशासनका शाखा अधिकृत उपाध्यायले प्रदेशसभाको शपथग्रहण अगावै प्रदेश प्रमुखको पदवहालीको कार्यक्रम तय भएको बताउनुभयो । “सलामी ग्रहणलगत्तै प्रदेश प्रमुखज्यूबाट पदवहाली गर्ने कार्यक्रम छ” उहाँ भन्नुभयो, “त्यसपछि जिल्ला समन्वय समितिको हलमा प्रदेशसभाको शपथग्रहण हुनेछ ।” प्रशासनले ६ नं प्रदेशका ४० जना सदस्यलाई शपथग्रहणका लागि खबर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV