६ माघ २०७४, शनिबार
  • राजकमल सिंह

धनुषा।  निकै छोटो समयमा प्रदेश सांसदहरुको सपथ ग्रहण गराउन निर्वाचन आयोगले पत्राचार गरेसँगै सात वटै प्रदेशमा सपथ ग्रहण गराउने स्थानको निर्माणकार्य यतिखेर धमाधम भइरहेको छ । तर, सबै काम हतारहतारमा हुँदा आइतबार सपथ ग्रहण गर्न तयार रहेका प्रदेश नम्बर २ का सांसदहरु नै यो हतारोप्रति असन्तुष्ट छन् ।

अपरझट गरि भएको निर्णय र त्योसँगै सपथ ग्रहण गराउने निर्वाचन आयोगको निर्देशनले धेरै प्रदेशको मुकाम रहेका स्थानमा यतिबेला चटारो छ । आइतबार सपथ ग्रहण हुँदै गर्दा सपथ ग्रहण गर्ने स्थान र प्रदेश सरकार बस्ने कार्यालयमा रंग रोगन र सरसफाई निकै हतारमा हुँदा प्रदेश सांसदहरु नै यसप्रति त्यति खुसी छैनन् । सपथ ग्रहण समारोहमा उपस्थित हुने समयसम्ममा पनि हतारमा गरिएको तयारी अपूर्ण हुने प्रदेश सांसदहरुको गुनासो छ ।

यता प्रदेश सरकारका लागि आवश्यक भौतिक संरचना व्यवस्थापन गर्ने जिम्मा पाएको शहरी डिभिजन तथा भवन कार्यालयले शनिवार विहान मात्र आधिकारिक जानकारी प्राप्त भएकाले तयारीमा ढिलाई भएकोे जनाएको छ । जनकपुर उद्योग वाणिज्य संघमा प्रदेश सांसदहरुको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ भने शिक्षक तालिम केन्द्रमा प्रदेश सांसदहरुको पहिलो बैठकको लागि कार्यालय स्थापना गरिएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई स्वागत पश्चात प्रदेश सांसदहरुको शपथको कार्यक्रम रहेको शहरी डिभिजन कार्यालय जनकपुरका इन्जिनियर महेश साहको भनाई छ ।

कोही सांसदहरु छोटो तयारीको विषयमा गुनासो गर्दै गर्दा प्रदेश सांसदहरु सपथ ग्रहण गर्नका लागि जनकपुर आउने क्रम सुरु भएको छ । पूर्व तयारी विना जे पनि हचुवाको भरमा गर्ने सरकारी शैलीले अन्ततः नयाँ संरचना अन्तर्गत उभिएको प्रदेशलाई पनि छोडेन् । ०००

प्रतिक्रिया दिनुहोस्

LIVE TV