६ माघ २०७४, शनिबार

.डा गणेश दंगाल

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हुन् । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ।

धेरै पुरुषसँग यौन सम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तनको क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर पछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ।

डिम्बासयको क्यान्सर र पाठेघरको मुखको क्यान्सर पछि पाठेघरको भित्रपट्टिको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको कारक तत्त्व हुन् । पाठेघरको भित्रपट्टिको क्यान्सरबाहेक योनीको क्यान्सर, योनीद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि छन् । त्यस्तै, स्तनको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो।

पाठेघरको मुखको क्यान्सर एउटा प्राणघातक रोग हो । तथ्यांकअनुसार, यो रोग विकासोन्मुख देशका झन्डै ८६ प्रतिशत र विकसित देशका १४ प्रतिशत महिलामा देखिएको छ ।

विकसित देशहरूमा यो क्यान्सरले महिलाहरूमा हुने क्यान्सरको करिब ६ प्रतिशत भाग ओगटेको छ । विकासोन्मुख देशहरूमा भने यो अझै बढी छ । स्तन क्यान्सरपछि यो क्यान्सर दोस्रो नम्बरमा आउँछ । यो रोग जुनसुकै उमेरका महिलालाई पनि लाग्न सक्छ । कम उमेरमा लागेमा यो अझ बढी खतरायुक्त हुन्छ ।

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सर्भाइकल क्यान्सर सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० को संक्रमणले हुन्छ । यो संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यो भाइरस पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके ८ र १० वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए÷नभएको प्यापस्मेयर टेस्ट गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो पाठेघरका कोषिका सामान्य अवस्थामा रहेरनरहेको पत्ता लगाउने सरल र छरितो विधि पनि हो । यो परीक्षण सस्तो पनि छ र यो जाँच गर्दा महिलालाई दुख्दैन।

विश्वमा पाठेघरको मुखको क्यान्सर मुख्य स्वास्थ्य समस्या र चासोका रूपमा छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा त यो मृत्युको एक मुख्य कारण नै बनेको छ । यसको मुख्य कारण अशिक्षा, गरिबीसँगै उपचार कार्यक्रम अभाव र उपचारमा ढिलाइ गर्ने बिरामीको व्यवहार छन्।

यो रोकथाम गर्न सकिने रोग हो । किनकि यसलाई क्यान्सर हुनु अगावैको अवस्थामा पत्ता लगाउन र उपचार गर्न सकिन्छ । व्यवस्थित बृहत पूर्व परीक्षण कार्यक्रम वेल अरगानाइज मास स्क्रिनिङ प्रोग्रामले गर्दा अति विकसित देशहरूमा यस रोगका रोकथामका उपायहरू प्रभावकारी भई रोग घट्दो क्रममा छ । दूर्भाग्यवश नेपाललगायत अन्य विकासोन्मुख देशहरूमा रोगी ढिलो फैलिएको अवस्थामा मात्र उपचारका लागि अस्पताल आउने गर्छन् । हामीकहाँ व्यवस्थित पूर्व परीक्षण कार्यक्रम नभएको तथा कहिलेकाहीँ ठूला अस्पतालहरूमा एवं क्लिनिकहरूमा मात्र स्क्रिनिङ गरिने हुँदा यसको रोकथाम हुन सकेको छैन।

नेपालका विभिन्न अस्पतालहरूमा यो स्क्रिनिङ सेवा उपलब्ध छ । समुदायमा आधारित रोकथाम सेवाको लागि पनि नेपाल सरकार प्रयासरत छ । स्क्रिनिङलाई स्त्रीरोग परीक्षणको एक भागका रूपमा स्थापित गराइनुले पनि यो रोगबाट हुने मृत्युदरमा कमी आएको छ।

प्यापस्मियर सन् १९५० मा सुरु गरिएको थियो र यो एक गुणस्तरयुक्त सेवाका रूपमा विकसित देशहरूमा स्थापित भएको छ । यसले गर्दा क्यान्सर हुनु पूर्वको अवस्था सुरुमै पत्ता लगाउन सकिने हुँदा उपचार पनि सुरु अवस्थामै गर्न सकिन्छ । ९० प्रतिशत रोगीलाई प्यापस्मियर वा अन्य स्क्रिनिङ जस्तै ‘भिज्युअल इन्स्पेक्सन विथ एसिटिक एसिड परीक्षण गरेमा सुरु अवस्थामै रोग पत्ता लगाउन सकिन्छ।

यो क्यान्सरविरुद्ध खोपको पनि आविस्कार भइसकेको छ । यो खोप ९ देखि १३ वर्षका बालिकालाई लगाइन्छ । यो खोप महँगो पर्ने भएकाले नेपालमा खासै प्रयोगमा आउन सकेको छैन । अज्ञानता, शिक्षाको कमी तथा गरिबीका कारण समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट बर्सेनि थुप्रै महिलाहरूको मृत्यु हुने गरेको छ । यो रोग सुरुकै अवस्थामा पत्ता लगाई आवश्यक उपचार गरेमा पूर्णतया निको पार्न सकिन्छ।

पाठेघरको मुखको क्यान्सरका कारणहरू निम्न बमोजिम हुन सक्छन् ।

१, यौन व्यवहारजन्य कारण

कम उमेरमै पहिलो यौन सम्पर्क राख्ने महिलाहरू र धेरै जनासँग यौन सम्पर्क गर्ने महिलामा यो रोग बढ्ता पाइएको छ । धेरै बच्चा जन्माउने आमाहरू, वेश्यावृत्तिमा लागेकाहरू, महिला बन्दीहरू, बहुविवाह गर्नेहरू र बालविवाह गर्नेहरूमा पनि यो रोग बढी मात्रामा पाइएको छ ।

२, धूम्रपान

ज्यादा धुम्रपान गर्ने महिलाहरूमा पनि यो रोग अक्सर पाइएको छ ।

३, संक्रमण

विभिन्न खाले संक्रमण, जस्तै स् ह्युमन पापिलोमा भाइरस वा अन्य यौन संक्रमण भएकाहरूमा पनि यो रोग ज्यादा पाइएको छ । यी बाहेक कम आय भएका वा अशिक्षित एवं आफ्नो शारीरिक सरसफाइ नगर्नेहरूमा पनि बढी पाइएको छ ।

रोगको निदान र निदानजन्य जाँचहरू

रोगका लक्षणहरू

१, यौन सम्पर्कको लगत्तै हुने रक्तस्राव ९कन्ट्याक्ट ब्लिडिङ० ।

२, महिनावारी अघिपछि योनीबाट हुने रक्तस्राव वा महिनावारी बन्द भइसकेका महिलाहरूको योनीबाट रगत ९पोस्ट मेनोपोसल ब्लिडिङ० आउनु ।

३, रक्त अल्पता ज्यादा रक्तस्रावको कारणले हुने वा गुप्तांगबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु ।

४, ज्यादै फैलिएको अवस्थामा तल्लो पेटमा पीडा हुने, खुट्टाहरू सुन्निने, दिसापिसाबमा रगत देखा पर्ने आदि ।

उपरोक्त कुनै पनि लक्षणहरू देखा परे तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नुपर्छ ।

निदान

पाठेघरको मुखको परीक्षण गरी शंका लागेको स्थानबाट मासुको टुक्रा निकाली बायोप्सी गराई क्यान्सर लागेको टुंगो लाग्छ । कोन बायोप्सी तथा कल्पोस्कपिक बायोप्सी आदि अन्य निदानका तरिकाहरू पनि उपलब्ध छन् ।

उपचार
प्रारम्भिक अवस्थामा भएको पाठेघरको मुखको क्यान्सरका लागि शल्यक्रियाहरू, जस्तै ः कोनाइजेसन साधारण पाठेघर निकाल्ने अप्रेसन तथा र्‍याडिकल हिस्टेरेक्टोमी गरिन्छ ।

फैलिएको अवस्थाको क्यान्सर उपचारका लागि ज्यादातर विकिरणले सेकाउने प्रविधि रेडियो थेरापी को प्रयोग गरिन्छ ।
पाका उमेरका र कम तन्दुरुस्त बिरामीलाई प्रारम्भिक अवस्थाकै भए पनि प्रायःजसो रेडियोथेरापीद्वारा नै उपचार गरिन्छ । ठुल्ठूला शल्यक्रिया कम उमेरका तन्दुरुस्त बिरामीहरूमा मात्र गरिन्छ । कतिपय अवस्थामा शल्यक्रिया तथा रेडियो थेरापी दुवैको प्रयोग गरिन्छ ।
केमोथेरापी सुईद्वारा नसामा लगाइने औषधिको प्रयोगले यो रोग नियन्त्रण मात्र हुन्छ । निको हुँदैन । प्रायःजसो पुनः रोग दोहोरिएका बिरामीहरू एवं सर्जरी रेडियोथेरापीले निको नभएका बिरामीलाई केमोथेरापी दिइन्छ ।
उपचारपछि पुनः परीक्षण

शल्यक्रिया वा रेडियोथेरापीपछि बिरामीलाई हरेक तीन–तीन महिनामा पहिलो तीन वर्षसम्म त्यसपछि हरेक ६–६ महिनामा थप दुई वर्षसम्म र त्यसपछि बाँचुन्जेलसम्म बार्षिक रूपमा अस्पतालमा सम्बन्धित बिशेषज्ञसँग जचाउनु जरुरी हुन्छ ।
कम उमेरका बिरामीमा हर्मोन प्रतिस्थापना थेरापी गर्नुपर्ने हुनसक्छ ।
रेडियोथेरापी पाएका बिरामीहरूले उपचारको केही महिनाभित्रमै यौनसम्पर्क गर्नुपर्छ । अन्यथा योनी साँघुरिने वा खुम्चने डर हुन्छ ।
यो सरुवा रोग होइन, त्यसैले संभोगबाट लोग्नेलाई सर्देैन ।
पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव भएकाले निम्नलिखित कुराहरू गर्नु आवश्यक छ ।

सानो उमेरमा विवाह गर्नु हुँदैन ।
महिलाहरूले नियमित स्त्रीरोग परीक्षण र हरेक वर्ष ९प्यापस्मेयर० परीक्षण गराउनु पर्छ ।
धेरै जनासँग यौन सम्पर्क गर्नु क्यान्सरको एक कारक तŒव भएकाले सोबाट जोगिनु पर्छ । गुप्तांग सम्बन्धी रोगहरूको समयमै उपचार गराउनु पर्छ ।
गुप्तांग सधै सफा राख्नु पर्छ ।
धेरै बच्चा जन्माउनु हुँदैन ।
चुरोट, बिँडी, खैनी, तमाखु जस्ता सूर्तीजन्य पदार्थहरूको सेवन गर्नु हुँदैन ।
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV