६ माघ २०७४, शनिबार

शरीर कमाउने चिसोमै कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका गंगा चौधरी बिहान ५ बजे नै खेतबारीबाट टिपेको तरकारी टोकरीमा बोकी बजार चहार्दै हिँड्नुहुन्छ ।

साँझ पख खेतबारीमा लगाएको तरकारी टिपेर उहाँले बिहानीको झिसमिसेमै बजारमा लगेर बेच्दै आउनुभएको छ । उहाँले खेतमा उत्पादन गरेको रु एक हजार बढी मूल्य बराबरको तरकारी दैनिक स्थानीय बजारमा लगेर बेच्ने गर्नुहुन्छ । जसबाट उहाँको घर खर्च मात्रै धानिएको छैन । भविष्यका लागि बैंकमा रकम समेत जम्मा गर्दै आउनुभएको छ ।

टोकरी टाउकोमा बोकेर एक घण्टाको दूरी तय गर्दै पैदल बिहानै बजारतर्फ हिँड्ने उहाँले तीन घण्टामै तरकारी बेचेर घर फर्किनुहुन्छ । घर फर्केपछि घरको काममा लाग्नुहुन्छ । खेतमा तरकारी उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने उहाँ एक्लो महिला मात्र भने होइन ।

उहाँजस्तै पिपलाडी र जोनापुरका गरी ६० बढी महिला तरकारी खेतीमा संलग्न रहनुभएको छ । सबै जनाले बिहानै बजार क्षेत्रमा टाउकोमा तरकारीले भरिएका ठूलठूला टोकरी बोकी बिक्री गर्दै हिँड्ने गर्नुभएको छ ।

सात वर्षदेखि यहाँका महिलाले बाह्रै महिना खेतमा तरकारी उत्पादन गरी बजारमा बिक्री गर्दै आएका छन् । तरकारी बेच्दै आएका महिलाका घरका पुरुषले तरकारीका लागि खेत तयार गर्ने, गोडमेल गर्ने, विषादी मल राख्ने, तरकारी टिप्नेलगायतका कार्यमा सघाउ पु¥याउँदै आएका छन् ।

खेतमा उत्पादन भएको तरकारी कुखुराको डाकसंगै महिलाले टाउकोमा राख्दै लस्करै समूहमा हिँड्दै बजार खुल्नुअघि नै पुग्ने गर्दछन्, गाउँका भलमन्सा नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “तरकारी बिक्री गरेर घर फिर्ता भएपछि घरायसी कार्यसँगै तरकारी खेतीमा स्याहार गर्नमा समय लगाउने बताउनुभयो ।”

तरकारी खेतीबाटै यहाँका महिलाले बालबालिकालाई अंग्रेजी विद्यालयमा पढाउनुका साथै, खेत जोत्नका लागि ट्र्याक्टर, पावर टिलर, रिपर, सिँचाइका लागि विद्युतीय मोटरसँगै बोरिङ जोडेका छन् ।

अधिकांशले तरकारी खेतीको कमाइ जम्मा गरी पक्की घरसमेत निर्माणमा जुटेका छन् । साइकलसमेत नभएका परिवारका सदस्य अहिले मोटरसाइकलमा हिँड्ने भएका छन्, यसैको कमाईबाट ।

तरकारी खेतीले आर्थिक अवस्थामा सुधार ल्याई जीवनशैलीनै परिवर्तन गरिदिएको इन्द्रावती चौधरीले बताउनुभयो । “तरकारी खेतीकै कमाइले घर खर्चदेखि सबै थोक चल्न थालेपछि सबै जनाले यसमै भविष्य देख्न थालेका छौँ” उहाँले भन्नुभयो ।

खेतबारीमा अन्न लगाउँदा खानका लागि मुस्किलले पुग्दथ्यो विगत सम्झँदै उहाँले भन्नुभयो, “तरकारी खेती गरेर घरको चुलो मात्रै जलेको छैन, भविश्यनै यसमै अडेको छ ।”

मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका यहाँका महिलाले हरियो सागपातसँगै मुला, धनियाँ, तितेकरेला, घिरौला, तोरिया, काँक्रा, आलु, टमाटर, बन्दागोभी, काउली, खुर्सानी, बोडी, लौका, भाण्टा, प्याज, भिण्डीलगायत खेतमा रोप्दै आएका छन् ।

तरकारी खेतीमा संलग्न महिलाले मासिकरुपमा रु ३६ हजार देखि रु ४० हजारसम्म तरकारी बिक्री गरी आम्दानी लिँदै आएका छन् । यहाँका किसानले दुई कट्ठादेखि एक बिगाहा जग्गासम्ममा तरकारी खेती गर्र्र्दै आएका छन् ।

खेतीमा रोग वा किराको प्रकोप भए नजिकको कृषि सेवा केन्द्रमा फोन गरी जानकारी लिनुपर्छ भन्ने ज्ञानसमेत यहाँका महिलामा रहेको छ । तरकारी बालीमा समस्या देखिए सानातिना कुरा आफैँ निदान गर्न सक्दछौँ, जमुना चौधरीले भन्नुभयो, “प्रकोपकै रुपमै रोग किराको समस्या देखा परे कृषि प्राविधिकलाई गुहार्न पछि पर्दैनौँ ।”

“धेरै वर्षदेखि तरकारी खेती गर्दै आएकाले रोग र किराको प्रकोप हटाउनका लागि जानकार समेत भएका छौँ” उहाँले भन्नुभयो । तरकारी टाउकोमा बोकेर बजारतर्फ लाग्दा चुलोचौको गर्ने महिलाले बजार जानु हुँदैन भनेर धेरैले कुरा काट्ने गर्दथे सीता चौधरीले भन्नुभयो, “महिलाले पुरुषभन्दा बढी तरकारी बेचेर आम्दानी गरेपछि हाल महिलालाई तरकारी बेच्न हौसला दिने कार्य हुँदै आएको छ ।”

कृषि शाखा झलारीका अनुसार नगरपालिका–३ बाट मात्रै वार्षिकरुपमा तीन करोड बढीको तरकारी बिक्री हुने गरेको छ । नजिकका झलारी, वनसमिति, कलुवापुर, गुलरियालगायतका बजार यहाँको तरकारीमा निर्भर रहेका छन् । भारतीय बजारबाट ल्याईने तरकारीसमेत स्थानीय तरकारी उत्पादनले कमी ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV